कांग्रेस र एमालेबीच गृहकार्य भइरहेको छ, यो सरकार केही महिनामा ढल्छ: शंकर भण्डारी

कांग्रेस र एमालेबीच गृहकार्य भइरहेको छ, यो सरकार केही महिनामा ढल्छ: शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मिलेर सरकार चलाउने विषयमा कांग्रेस र एमालेबीच गृहकार्य भइरहेको बताएका छन्।

नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भण्डारीले देशलाई राजनीतिक स्थायित्व दिन र विकास निर्माणका कामलाई अघि बढाउन कांग्रेस र एमालेले सहकार्य गर्नुपर्ने बारे छलफल भइरहेकाले वर्तमान सरकार धेरै नटिक्ने बताएका हुन्।

उनले केही महिनामै वर्तमान सरकार ढल्ने दाबी गरे।

‘केही महिना भित्रै नेपाली काग्रेस र नेकपा एमाले बीचमा गठवन्धनको नयाँ सरकार बन्छ, यो सरकार आफ्नै कारण हनिमुन पिरियड नसकिँदै ढल्छ,’ उनले भने।

स्थिर सरकारका कारण जनतालाई सेवा प्रवाहमा कठिनाइ भएको र विभिन्न तत्वहरूले खेल्ने मौका पाएकाले कांग्रेस र एमाले मिलेर सरकार चलाउन आवश्यक रहेको पनि भण्डारीले बताए।

‘पछिल्नो समय नेपाली राजनीतिमा केही डरलाग्दा परिदृष्यहरु देखा परिरहेका छन्,’ नेता भण्डारीले भने ‘ त्यसका लागि दुई ठूला राजनीतिक शक्तिका बीचमा कार्यगत एकता कायम गरी त्यसखालका परिदृष्यलाई परास्त गर्न जरुरी छ।’

नेपाली काग्रेस र नेकपा एमाले फरक राजनीतिक विचारबाट प्रभावित भएपनि सरकार संचालन गर्न र जनतालाई सेवा प्रवाह गर्ने सवालमा सहकार्य हुने उनको उनले बताए।