बातचित घरको वार्षिक उत्सव, थारु संस्कृति बचाउनुपर्नेमा जोड

बातचित घरको वार्षिक उत्सव, थारु संस्कृति बचाउनुपर्नेमा जोड

धनगढी । बातचित घरको वार्षिक उत्सव शनिवार सम्पन्न भएको छ । ''आइ बातचित घर के एक वर्ष उत्सव मनाई '' भन्ने नारा सहित बातचित घरको वार्षिक उत्सव सम्पन्न भएको हो । वार्षिक उत्सवमा थारु संस्कृति तथा कलालाई बचाउनुपर्नेमा सरोकारवालाले जोड दिनुपर्ने बताएका छन् । पछिल्लो समय यस समुदायको संस्कृतिमा मिसावट देखिएको उनीहरुले बताएका छन् ।

उत्सव कार्यक्रममा थारु समुदायका चुनौती अवसर तथा कला संस्कृतिका विषयमा छलफल पनि गरिएको छ । छलफलमा थारु आयोगका सदस्य शान्ति मोदी र पूर्व मन्त्री तथा संविधान सभा सदस्य डा गोपाल दहितले थारु समुदायमा भएका चुनौती र अवसरका विषयमा छलफल गरेका थिए । थारु आयोगका सदस्य शान्ति मोदीले पछिल्लो समय थारु समुदायमा अवसरका साथै चुनौती थपिएको बताएकी छन् । थारु गीत तथा संस्कृतिमा पनि मिसावट भएको उनको भनाई छ । 

थारु कला संस्कृतिमा धनी भए पनि तर,यसको संरक्षण हुन नसकेको संविधान सभा सदस्य डा गोपाल दहितले बताए । अहिलेका शिक्षित वर्गले नै यो संस्कृति बचाउनमा ध्यान नदिएको उनको भनाई छ । हाम्रो कला र संस्कृति बचाउनमा उनीहरुले पनि ध्यान दिनुपर्ने बताए । अहिलेका युवा वर्गले नै थारु भाषा बोल्न तथा थारु पहिरन जोगाउनमा ध्यान नदिएको उनले बताएका छन् । उनले आफ्ना बालबालिकालाई थारु भाषा नै नसिकाउँदा यो भाषा लोप हुन थालेको उनको भनाई छ । 'हाम्रो बच्चाहरूले नेपाली भाषा सिके, अङ्ग्रेजी सिके तर आफ्नो भाषा नै भूलेका छन्'' उनले भने- यसलाई बचाउनलाई सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्छ ।''

यस्तै उनले महोत्सवमा पनि विकृति देखिएको हुँदा यसमा आफ्ना कला संस्कृति देखाउनुपर्ने बताए । उनले मेला महोत्सवमा पनि बाहिरको संस्कृति  देखाइने बताए । यस्तै उनले यस समुदायमा बाल विवाह बढ्दै गएको बताउँदै यसमा पनि ध्यान दिनपर्ने बताएका छन् । बाल विवाह न्यूनीकरणका लागि ब्यक्तिन स्वयम आफैँ पनि जागरुक हुनुपर्ने उनले बताए । यस्तै उनले वडाबाट पनि उमेर पुगेकालाई मात्रै सिफारिस गर्नुपर्ने बताउँदै अव हरेक वडाले यो नियम लागु गर्न सक्यौ भने बाल विवाह न्यूनीकरण हुने बताए ।

कार्यक्रममा बातचित घरका बडघर ठाकुर करिया प्रधानले आफ्नो कला संस्कृति जोर्गेनामा हामीले सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले यो संस्कृति बचाउनमा बातचित घरको पनि ठुलो महत्त्व रहेको बताए । 

कार्यक्रममा बातचित घरमा सहयोग गर्नु हुने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो । यस्तै परम्परागत थारु नृत्य समेत देखाइएको थियो । यस्तै बातचित घरको भित्ते पात्रो समेत निकालिएको छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, चलचित्रकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन इन्दु चौधरीले गरेकी हुन् ।