अमेरिकाको चेतावनीपछि इसराइलले दक्षिणी गजाबाट फिर्ता बोलायो सेना

अमेरिकाको चेतावनीपछि इसराइलले दक्षिणी गजाबाट फिर्ता बोलायो सेना

इसराइलले गजाको दक्षिणी भूभागबाट केही सेना फिर्ता गरेको छ।

अमेरिका लगायत अन्य सहयोगी राष्ट्रहरूको चेतावनी र दबाबपछि इसराइलले आइतबार गजाको दक्षिणी खान युनिश सहरमा परिचालित थलसेनालाई फिर्ता गरेको हो।

समाचार संस्था रोयटर्सका अनुसार अब त्यहाँ इसराइली डिफेन्स फोर्स (आइडिएफ) को एउटा ब्रिगेडमात्रै राखिएको छ।

इसराइली रक्षामन्त्री योअव गालान्टले दक्षिणी गजा क्षेत्रमा थलसेना घटाइएपनि सैनिक निगरानी कायम रहेको बताएका छन्।

‘हामीले सैनिकको संख्या घटाएका हौं। सबै सैनिक फिर्ता बोलाएका होइनौं,’ आइतबारको प्रेस ब्रिफिङमा इसराइली रक्षामन्त्री गालान्टले भने।

उनले भविष्यमा हमासविरूद्ध गरिने थप कारबाहीको तयारी गर्न सैनिकहरूलाई बोलाइएको स्पष्ट पारे।

तर, इसराइलको प्रमुख सहयोगी राष्ट्र अमेरिकाले केही दिनअघि उसलाई गजामा हमासविरूद्ध आक्रमण गर्दा त्यहाँका नागरिकलाई क्षति नपुर्‍याउन र मानवीय सहायताका कार्यहरूलाई सुरक्षित गर्न चेतावनी दिएको थियो।

दुई साताअघि गजामा मानवीय सहायता लिएर पुगेको वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसिके) का ७ जना स्वयंसेवकहरू इसराइली हवाई आक्रमणमा मारिएका थिए।

त्यसपछि अमेरिका, बेलायत लगायतका शक्ति राष्ट्रहरूले इसराइलको उक्त कदमको भर्त्सना गरेका थिए।  इसराइलले भने भूलवश मानवीय सहायताकर्मीहरू मारिएको भनेर टारेको थियो।

उक्त घटनापछि गजामा मानवीय सहायताकर्मीहरू सुरक्षित हुने अवस्था सुनिश्चित गर्न भन्दै अमेरिकाले इसराइल नीतिमा नै विचार गर्ने चेतावनी दिएको एक सातामा इसराइलले गजामा सैनिक संख्या घटाएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गजामा युद्धविराम गर्ने विषयमा इजिप्टले मध्यस्तता गरिरहेको बताएका छन्।

त्यसका लागि हमासका अधिकारीहरू इजिप्ट पुगिसकेको र इसराइली पक्षलाई पनि छलफलका लागि आह्वान गर्ने बताइएको छ।

इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुले हमासले आफ्ना नागरिकहरूलाई मुक्त नगरेसम्म युद्धविराम नगर्ने बताएका छन्।

‘कुनै पनि शक्ति राष्ट्रसँग इसाइल झुक्दैन। गजामा हमास सखाप पार्ने शपथ लिएका छौं। त्यो पूरा गर्छौं,’ प्रधानमन्त्री नेतेन्याहुले भनेका छन्।

पछिल्लो समय अन्तर्राष्ट्रिय शक्ति राष्ट्रसँगै देशभित्रै पनि प्रधानमन्त्री नेतेन्याहुको विरोध गर्ने नागरिकको संख्या बढेको छ।

उनीहरूले पनि गजामा वार्तामार्फत त्यहाँ बन्दी बनाइएका इसराइली नागरिकहरूलाई फिर्ता ल्याउन माग गरिरहेका छन्। आइतबार मात्रै गजामा एक बन्दी मृत भेटिएका थिए।

देशभित्र र बाहिर नेतेन्याहुमाथि चर्को दबाब भएपछि इजिप्टमार्फत युद्धविरामको पहल भइरहेको बताइएको छ।

अक्टोबर ७ मा हमासले आक्रमण गर्दा इसराइलमा १ हजार २ जना मारिएका थिए। उक्त आक्रमणमा १० जना नेपाली नागरिक पनि मारिएका थिए भने विपिन जोशीसहित २४९ जनालाई हमासले बन्दी बनाएर गजा पुर्‍याएको थियो।

त्यसयता इसराइलले लगातार गजामा आक्रमण गर्दै आएको छ।

बीचमा केही दिन युद्धबिराम भएपनि हमासले सबै बन्दी नछाडेपछि इसराइलले पुन आक्रमण बढाएको थियो। गजामा अझै १३० जना भन्दा बढी हमासको बन्धकमा रहेको बताइएको छ। 

उनीहरूले गजामा बन्दी बनाइएका इसराइली नागरिकहरूलाई वार्तामार्फत स्वदेश फिर्ता ल्याउने वातावरण बनाउनुको सट्टा आक्रमण गरेर प्रधानमन्त्री नेतेन्याहुले आफ्नै नागरिकहरूमाथि खतरा बढाएको आरोप लगाएका थिए।

 गजामा इसराइलको आक्रमणबाट अहिलेसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।