सुदूरपश्चिममा सरकार गठनका लागि आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य थाल्दै नागरिक उन्मुक्ति

सुदूरपश्चिममा सरकार गठनका लागि आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य थाल्दै नागरिक उन्मुक्ति

धनगढी। सुदूरपश्चिममा सरकार गठनका लागि निर्णायक भुमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य थालेको छ । यसअघि एमाले नेतृत्वको सरकार र त्यसपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकार ढालेपछि निर्णायक भुमिकामा रहेको नागरिक उन्मुक्तिले अब आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य थालेको हो।

नागरिक उन्मुक्तिपाटीबाट बिश्वासको मत नपाउने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिएका थिए । नयाँ सरकार गठनका लागि निर्णायक देखिएको नागरिक उन्मुक्ति भित्र पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद रहेको छ । यद्यपि, रञ्जीता पक्ष हाबी भएसँगै अब नयाँ गठबन्धनबाट सुदूरपश्चिमको सरकार बनाउने तयारीमा लागेको नागरिक उन्मुक्तिका नेता राजेश अधिकारीले जानकारी दिए।

यसअघि नै नागरिक उन्मुक्तिले सरकार छोडेर आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माणको पहल थाल्ने तयारी गरे पनि रेशमको अडानले केही समस्या भएको उनले बताए।  उनले यस विषयमा सत्ता गठबन्धनमा लिखित सहमति भइसकेकाले अब सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । अहिलेसम्म सरकार बनिसक्नेमा अध्यक्ष रञ्जीता श्रेष्ठ र नेता रेशम चौधरीको विवादले रोकिएको जानकारी दिए ।

अधिकारीले रेशम अध्यक्ष बन्ने समयमै महाधिवेशनमा प्रश्न उठाएका थिए । रेशमलाई अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म संरक्षककै भूमिकामा बस्न अधिकारीले आग्रह गरेपछि पार्टीमा विवाद भएको थियो । विवादपछि पनि रेशम नै अध्यक्ष बनेका थिए । निर्वाचन आयोगले अधिवेशन नै रद्द गरिदिएपछि नाउपामा शक्ति संघर्ष सुरु भएको थियो ।

केन्द्रीय संसदबाट रञ्जीताको प्रभाव परेपछि सुदूरपश्चिमको संसद्बाट रेशमले नियन्त्रण लिने प्रयास गरेका थिए । त्यहीकारण रञ्जीताले सरकारबाट बाहिरिने निर्णय गरेकी थिइन् तर थप दुई मन्त्रीले कांग्रेस नेतृत्वको सरकारमा मन्त्रीको शपथ लिएका थिए । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूमा पहिले रेशम नै अध्यक्ष भएको भ्रमका कारण त्यस्तो भएको र अहिले त्यो भ्रम हटेको अधिकारीले जानकारी दिए । अध्यक्षले सरकारबाट फिर्ता हुन निर्देशन दिइसकेपछि थप मन्त्रीहरू सरकारमा गएर शपथ लिएका थिए । रेशमजीले कांग्रेस नेतृत्वको सरकार ढाल्नेलाई कारबाही गर्ने चेतावनी दिएको अधिकारीले बताए ।

अहिले हामीले त्यसरी सरकारमा जाने र बस्नेलाई स्पष्टीकरण सोधेका भन्दै स्पष्टीकरण चित्तबुझ्दो नै आएको बताए । अधिकारीले भने, हामी हिजो रेशम चौधरीलाई नै अध्यक्ष मानेर काम ग¥यौँ, रञ्जीताजीले पनि छलफल गर्नु भएन र सरकारमा गयौँ, उनले भने तर, अब सबै कुरा थाहा भइसकेकाले आगामी दिनमा त्यस्तो हुँदैन भन्ने आएको छ ।” उनले रेशमका विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ निर्णायक हुने भन्दै फैसलाले बाटो नखोलिदिएमा उनको राजनीतिक पूर्णविराम हुने बताए ।

उनले वर्तमान सत्ता गठबन्धनका नेताहरूसँग रेशमले उपप्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेताहरूले उनलाई अस्वभाविक रुपमा लिन थालेका थिए । त्यसको प्रतिवादमा रेशमले सुदूरपश्चिममा गठबन्धनबाहेकको सरकार लागि अभ्यास गरेका थिए । “उहाँ नागरिक उन्मुक्तिको जन्मदाता र विचारक हो । स्थापना उहाँले नै गरेको हुँदा उहाँ यो पार्टीबाट सधैँ सम्मानित हुनुहुनेछ,” अधिकारीले भने, “तर, कानुनले नै रोकेको हुँदा सर्वोच्चले फैसलबाट बाटो फुकाएन भने उहाँले सक्रिय राजनीति गर्न नपाउने भएकाले उहाँको भूमिका यो पार्टीको विचारकको रूपमा सीमित हुनेछ, उनले भने । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ ।