गुगलले ल्यायो हराएको फोन अफ हुँदा पनि फेला पार्न सकिने फिचर

गुगलले ल्यायो हराएको फोन अफ हुँदा पनि फेला पार्न सकिने फिचर

काठमाडौं । हराएका डिभाइसहरू फेला पार्ने कामलाई सजिलो बनाउन गुगलले ‘फाइन्ड माइ डिभाइस’लाई अपग्रेड गरेको छ । हराएका डिभाइस अफलाइन भए पनि तिनलाई फेला पार्न सजिलो बनाउन गुगलले 'फाइन्ड माई डिभाइस नेटवर्क' अपग्रेड गरेको हो । 

गुगलले गत सेप्टेम्बरमै यस्तो फिचरको घोषणा गरेको थियो । तर कम्पनीले हिजो सोमबार (८ अप्रिल) देखि मात्रै यसलाई प्रयोगकर्तामाझ उपलब्ध गराउन थालेको हो । यो फिचर आएसँगै एन्ड्रोइड प्रयोगकर्ताले फोन, स्मार्टवाच, इयरबड र ट्रयाकरलाई सजिलैसँग फेला पार्न सक्ने गुगलले जनाएको छ । 

विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गराइने यो फिचर सुरुआती चरणमा अमेरिका र क्यानडामा मात्र उपलब्ध हुने बताइएको छ । तर केही महिनभित्र यो फिचर विश्वभर उपलब्ध गराउने गुगलको भनाइ छ । ब्लुटुथ प्रोक्सिमिटीका आधारमा फाइन्ड माई डिभाइसले यी सबै काम गर्ने कम्पनीले ब्लगमा उल्लेख गरेको छ । आफ्नो डिभाइसमा यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले त्यसको सूचना इमेलमार्फत पाउने बताइएको छ । 

त्यसपछि हराएका डिभाइस इन्टरनेटमा कनेक्ट नभएपनि प्रयोगकर्ताले म्यापमा उक्त डिभाइस रहेको स्थान हेर्न र नोटिफिकेसन रिङ बजाउन सक्ने छन् । त्यस्तै पिक्सेल ८ र पिक्सेल ८ प्रोमा भने उक्त डिभाइस अफ भए पनि ट्य्राक गर्न सकिन्छ । यसअघि नै एप्पलले आईओएस डिभाइसका लागि यस्तो फिचर ल्याइसकेको थियो ।