आजदेखि नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान सुरु

आजदेखि नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि नयाँ शैक्षिकसत्रका लागि देशभर विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

अभियानको पहिलो दिन आज सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठले  ‘भर्चुअल’ माध्यमबाट अन्तर्क्रिया गरेकी छन्। उनले बिहान ८ बजे अन्तरक्रिया गरेको मन्त्रीको सचिवालयले जनाएको छ। 

आजदेखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेललेले बताए। 

सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत आज स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ। 

वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ।