जातीय भेदभाव गरेको आरोपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

जातीय भेदभाव गरेको आरोपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

जातीय विभेद र दुर्व्यवहार गरेको आरोपमा हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गिरीलाई शनिबार राति पक्राउ गरिएको हो।  

उनीविरूद्ध जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जातीय विभेद र दुर्व्यवहारको जाहेरी दिएका थिए।

सोही जाहेरीको आधारमा उहाँलाई शनिबार राति बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ आकर्षण हुनेगरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको डिएसपी चन्दले बताए।   

गत चैत १८ गते हल्दिबारीमा भएको नेकपा एमाले हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौज गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको पोर्तेलको आरोप छ।

पक्राउ परेका गिरीलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी चन्दले जानकारी दिए।

पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य छन्।

केही दिन नेपाल दलित संघ, मुक्ति समाज झापा, नेपाल दलित मुक्ति मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठन, दलित जागरण अभियान र ओरिफ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गिरीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका थिए।