वानएक्स बेटिङमार्फत सट्टेबाजी खेलाएको आरोपमा ३ जना पक्राउ

वानएक्स बेटिङमार्फत सट्टेबाजी खेलाएको आरोपमा ३ जना पक्राउ

काठमाडौं । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा–१० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले अहिलेसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । यो समूहले सट्टेबाजी खेलाउनुका साथै क्रिप्टो करेन्सीको समेत कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

उनीहरुबाट २१ वटा मोबाइल बरामद भएको छ भने ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।