रुपन्देहीका नौ गाउँमा आगलागी

रुपन्देहीका नौ गाउँमा आगलागी

काठमाडौँ । रुपन्देहीका नौ गाउँमा आगलागी  भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।

रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । 

गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा विष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ ।

आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उनले बताए । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो ।आगलागीको घटना जिल्लाभरिबाट नै भएका प्रवक्ता भट्ट बताउँछन् । गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ ।

वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो । उक्त गोठमा रहेका नौ बाख्रासहित तीन लाख बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।