आजको मौसम : तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना

आजको मौसम : तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना

धनगढी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम सफा रहने छ ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना छ ।

आज राती कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।