कैलालीको घोडाघोडीमा उपभोक्तालाई ग्यास सिलिण्डर र चुलो सहयोग

कैलालीको घोडाघोडीमा उपभोक्तालाई ग्यास सिलिण्डर र चुलो सहयोग

कैलाली । सामुदायिक वन जोगाउन उपभोक्ताहरूलाई एलपी ग्यास सिलिण्डर र चुलो सहयोग गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१२ नक्फोडुवामा रहेको जनता सामुदायिक वन उपभोक्ता समूहले खानापकाउने दाउराका लागि सामुदायिक वनमा आश्रित समूहका उपभोक्ताहरूलाई नवनिर्मित भवन उद्घाटनको अवसरमा ग्यास सिलिन्डर र चुलो वितरण गरेको हो ।

दाउराका लागि वन माथिको निर्भरता कम गर्नका लागि १४५ जना उपभोक्तालाई ग्यास सिलिन्डर र चुलो वितरण गरिएको समूहका अध्यक्ष कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो । सामुदायिक वनको आम्दानीमध्ये केही सामाजिक, सार्वजनिक सरोकारको विषयमा खर्चगर्दै आइरहेको समूहले काठ विक्रीबाट आएको आम्दानी रकममध्ये ग्यास सिलिण्डर तथा चुलो सहयोगमा खर्चेको बताइएको छ ।

वन उपभोक्ता समूहले २१ लाख रकम खर्च भवन निर्माण समेत गरेको छ । उक्त भवनको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले उद्घाटन गर्नुभयो। भवन उद्घाटन तथा ग्यास सिलिण्डर र चुलो वितरण गर्दै डिभिजन वन प्रमुख बिचारीले सामुदायिक वनमा जोडिएका उपभोक्ताहरूले खाना पकाउन प्रयोग गरिने दाउराको ठाउँमा ग्यास प्रयोग गर्दा उनीहरूको जनजीवन सहज हुनुको साथै वनजंगल संरक्षणमा सहयोग पुग्ने बताए ।

उहाँले भन्नुभयो, “सामुदायिक वनमा आबद्ध उपभोक्ताहरूले वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदा वन विनाश कम हुन्छ । दाउराका लागि वन क्षेत्रमा खर्च हुने समय महिलाहरूले खेतबारी र अन्य आयआर्जनका कार्यमा लगाउन सक्नेछन् ।”

ग्यास चुलो वितरणले उपभोक्तालाई वन संरक्षण गर्न उत्साहित बनाएको जनता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “दाउराका लागि सामुदायिक वनमा हुने निर्भरता घटाउँदै वन जोगाउन प्रेरित गर्ने उद्देश्यले ग्यासको सिलिन्डर र चुलो वितरण गरेका छौ । काठ बिक्रीबाट आएको रकम खर्चेर प्रति उपभोक्ता छ हजार ४५ रुपियाँ पर्ने गरी सामुदायिक वनले ग्याँस सिलिन्डर र चुलो वितरण गरेका हौँ ।” 

ग्यास पाएपछि स्थानीय उपभोक्ता खुसी भएका छन् । स्थानीयले दाउरा खपत कमी, समयको बचत, र वन फडानीमा कमी आउनुका साथै अन्य काम गर्न सहज हुने बताएका छन् ।  २०७२ सालमा स्थापना भएको सामुदायिक वनमा १४५ जना उपभोक्ता आबद्ध रहेका छन् ।

दुईसय १८ दशमलव ७० हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनले बाटोघाटो निर्माणका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । सामुदायिक वनको भवन उद्घाटन तथा ग्यास चुलो वितरण कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष रामदुलारे चौधरी, वडा सदस्य, कार्यपालिका सदस्य, भलमन्सा, शिक्षक, प्रहरी लगायत उपभोक्ताहरूको सहभागिता रहेको थियो ।