कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए ।

जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् ।

यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् ।

आजको बैठकमा कांग्रेसका तीन सांसद् उपस्थित भएनन् । राप्रपा तटस्थ बसेको छ । प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ ।

नेकपा एमालेका नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कँडेल कर्णालीको चौथो मुख्यमन्त्री हुन् । मख्यमन्त्री कँडेलले बुधबार मात्रै नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको १७ दिन पुग्दा पनि कँडेलले अझै मन्त्रिपरिषदलाई भने पूर्णता दिन सकेका छैनन् । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको कँडेल निकट सांसदहरू बताउँछन् ।