अढाइ वर्षकी बालिका बेचविखन गर्ने एक महिला पक्राउ

अढाइ वर्षकी बालिका बेचविखन गर्ने एक महिला पक्राउ

काठमाडौँ । अढाइ वर्षकी बालिका बेचविखन गर्ने एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको अढाइ वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाकी ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटक-पटक भेटेर तिमीहरूको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौंको संस्थाको होस्टलमा राखिदिन्छौँ भनेर काठमाडौं ल्याएर बेचविखन गरेको अनुसन्धानबाट खुलेको बताए ।

पक्राउ परेकी विश्वकर्माले अढाइ वर्षकी बालिकालाई गत १९ चैतमा पीडितको घरमा गई ल्याएर चार दिन आफ्नो घरमा राखेर बालिकालाई झापाको काकरभिट्टासम्म पुर्‍याएर भारतको सिलगुढी माइती भएकी महिलालाई बेचेको खुलेको उनले बताए ।

विश्वकर्माले संस्थाका तर्फबाट भनी पीडित बालिकाका आमाबुबालाई २० हजार रुपैयाँ दिएको पनि खुलेको छ । प्रहरीले पीडित बालिकालाई १० वैशाखमा उद्दार गरेर सुरक्षित आवास गृहमा राखेको छ ।  


प्रहरीले बालिका बेचविखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रवक्ता फुयालले बताए । रासस