आइतबारदेखि ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

आइतबारदेखि ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका फोकल पर्सन राम कुमार महतोका अनुसार सात जिल्लाका १०१ पालिकामा रहेका ५१ लाख नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

उनका अनुसार ५३ जिल्लामा समुदायिक स्तरको संक्रमण रोकिएकाले आम औषधि सेवन बन्द गरिएको छ । चार वटा जिल्लामा औषधि सेवन कार्यक्रम सकेर सर्भे भइरहेको छ ।

बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताउँदै महत्तोले समुदाय स्तरमा संक्रमण रोकिएको वा नरोकिएको भन्ने विषयमा १० महिनापछि अध्ययन हुने बताए ।

अभियानका लागि यस वर्ष सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ करोड रुपैयाँ स्थानीय निकायमा निकासा भइसकेको छ ।

आम हात्तीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टिन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल छन् ।

डाइइथाइल्कारबामाजिन (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि रगत र पेटमा भएको परजीवी जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । सरकारले हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००३ देखि ती औषधि खुवाइरहेको छ भने सन् २०३० सम्ममा नेपालबाट पूर्ण रुपमा निवारण गर्ने लक्ष्य छ ।

हात्तीपाइले रोग कसरी लाग्छ ?

हात्तीपाइले ९फाइलेरिया० सरूवा रोग हो । यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकाले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ मान्छेलाई टोकेर ती परजीवी त्यसलाई सारिदिन्छ । यसरी लामखुट्टेले हात्तीपाइले रोग एक व्यक्तिबाट अर्को व्यक्तिलाई सार्ने काम गर्दछ ।

हात्तीपाइले रोग लाग्दा देखिने लक्षणहरु

सुरु–सुरुमा यो रोगको परजीवी मानिसको शरीरभित्र भएतापनि हात्तीपाइले रोगको कुनै लक्षण देखिंदैन । लामो समयपछि एक वर्ष वा त्योभन्दा बढी समयपछि मात्र रोगका लक्षणहरू देखिनसक्छ ।

ज्वरो आउनु
जाडो लाग्नु
शरीरमा विभिन्न भागहरूमा गिर्खा आउनु, दुख्नु
हात गोडाहरूमा निला र काला धर्साहरू देखापर्नु
महिलाहरूलाई यो रोग लागेको भए स्तन फुलेर ठूलो हुनु
पुरुषहरुलाई यो रोग लागेको भए अण्डकोष ठूलो हुनु वा हाइड्रोसिल हुनु
बिरामीका यौन अंगहरू सुन्निनु
रोग पुरानो हुँदै गएमा गोडा फुलेर हात्तीको जस्तो मोटो हुनु
हात्तीपाइले रोग लागेमा के गर्ने ?

हात्तीपाइले रोगका लक्षणहरू देखिएमा सेवा, सल्लाह तथा उपचारका लागि तुरून्तै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

यो रोगबाट बच्नका लागि नेपाल स्वास्थ्य मन्त्रालयद्वारा कार्यक्रम लागु भएका जिल्लाहरूमा प्रत्येक वर्षमा एकपटक गरी ६ वर्षसम्म लगातार औषधी सेवन गर्नुपर्छ । स्थानीय तालिमप्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरू मार्फत औषधि वितरण केन्द्र तथा घरदैलोमा गई निःशुल्क वितरण गरिने औषधी सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपयुक्त उपाय हो ।

यो औषधी वर्षको एकपटक गरी ६ वर्षसम्म लगातार सेवन गर्नुपर्छ अनि मात्र आफू र आफ्ना सन्तानहरूलाई पनि यो रोगबाट बचाउन सकिन्छ ।

हात्तीपाइले रोग नै लाग्न नदिन के गर्ने ?

हात्तीपाइले लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न यी निम्न उपायहरू अपनाउनु पर्छ–

सुत्ने बेलामा सधैं झुल प्रयोग गरी सुत्ने
पुरा बाहुला भएको लुगा र सम्पूर्ण शरीर छोप्ने लुगा लगाउने
घरबाहिर बस्दा वा सुत्दा शरीरको कुनै भाग खुला रहने भएमा लामखुट्टेले नटोक्ने मल्हम लगाउने ।
लामखुट्टे भगाउने धुप बाल्ने । लामखट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने
झ्यालढोकामा मसिनो जाली लगाउने
गाउँ नजिकै पोखरी भएमा लामखुट्टेले फुल (लार्भा) नपारोस् भन्नाका लागि लार्भा खाने माछा पाल्ने ।