नेकपा एसले अन्य दलका उम्मेदवारलाई समर्थन गरेको छैन : इन्चार्ज शाह

नेकपा एसले अन्य दलका उम्मेदवारलाई समर्थन गरेको छैन : इन्चार्ज शाह

बझाङ । एकीकृत समाजवादीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले एमालेका  केन्द्रीय सदस्य ऐन महरले एकीकृत समाजवादीले एमालेका उम्मेदवारलाई समर्थन गरेको भन्ने प्रचार झुटो भएको बताएकी छन् । उनले यो सबै हताश मनस्थितिको उपज भएको बताएकी हुन् ।

उनले बझाङमा एकीकृत समाजवादीले अन्य कुनै दलका उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पार्दै कसैलाई पनि भ्रममा नपर्न अनुरोध गरेकी छिन्। 

एमालेका नेता महरले शुक्रवार साँझ एकीकृत समाजवादीका उम्मेदवारले एमाले उम्मेदवारलाई समर्थन गरेको आशयको फेसबुक स्ट्याटस लेखेका थिए । महरले लेखेका थिए ‘बझाङमा एकीकृत समाजवादीलाई धन्यवाद । सहमति सहकार्य र एकता ।’

फेसबुकमार्फत आएको महरको अभिव्यक्ति छलकपट र षडयन्त्रको प्रयासको अर्को उदाहरण भएको बझाङस्थित एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुले बताएका छन् । 

एकीकृत समाजवादीका बझाङ जिल्ला सचिव लक्ष्मी प्रसाद जोशीले समेत विज्ञप्ति प्रकाशित गर्दै एमाले नेता महरको प्रचारप्रति आपत्ति जनाएका छन् । 

महरको अभिव्यक्ति आचारसंहिता विपरीत रहेकोले र सम्बन्धित निकायले उनलाई कारबाही गर्नुपर्नेमा पनि सचिव जोशीले माग गरेका छन् । बझाङ र इलाममा शनिवार उपनिर्वाचन हुदैँ छ ।