धनगढीमा भोकेस्नल स्कुलबाट तालिम लिएका  ४१ जनाले पाए रोजगारी

धनगढीमा भोकेस्नल स्कुलबाट तालिम लिएका  ४१ जनाले पाए रोजगारी

धनगढी । धनगढी उप महानगरपालिकाको भोकेस्नल स्कुलबाट तालिम लिएका मध्य ४१ जनाले रोजगारी पाएका छन् ।

धनगढी उप महानगरपालिकाले यो वर्ष  नगरका ८९ जनालाई भोकेस्नल तालिम प्रदान गरेको हो । धनगढी उप महानगरपालिकाले नेपाल युथ फाउन्डेसनसँगको सहकार्यमा चलाइएको भोकेस्नल स्कुलबाट यो वर्ष ४ वटा तालिम सम्पन्न भएका थिए ।

नेपाल युथ फाउन्डेसनको सहकार्यमा २०८० असोज ६ गते खुलेको धनगढी भोकेस्नल स्कुलमा यो वर्ष चार वटा तालिम सम्पन्न भएका छन् । पहिलो चरणमा प्लम्बिङ्ग र इलेक्टिकल तालिम भएको थियो । पहिलो चरणमा असोजदेखि भएको तालिममा ५२ जना सहभागी मध्ये २७ जनाले प्लम्बिङ्ग  र २५ जनाले इलेक्ट्रिकल तालिम लिएका हुन् ।

दोस्रो चरणमा भएको वेल्डिङ सहायक र फर्निचर मेकरको तालिममा ३७ जना सहभागी भएकोमा शुक्रवार तालिम समापन भएको छ । दोस्रो चरणमा वेल्डिङ सहायकको ५५० घण्टे तालिममा २१ तथा ३९० घण्टे फर्निचर मेकर तालिममा १६ जनाले तालिम लिएका छन् । तालिम समापन पश्चात् उपप्रमुख कन्दकलाकुमारी रानाले युवाहरूलाई प्रमाण पत्र वितरण गरेकी हुन् ।

उनले उप महानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार रोजगार तथा स्वरोजगार हुन् सहयोग गर्न युवाहरूलाई विभिन्न तालिम दिन भोकेस्नल स्कुल खोलेको बताइन् । तालिम पश्चात् युवाहरू आयआर्जन गर्न सक्षम हुने र आर्थिक रुपले आत्मनिर्भर हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीको समेत उपस्थिति रहेको थियो ।