महोत्तरीको बर्दिवास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छन्।
मृत्यु हुनेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन् ।
शनिबार बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका ५ टुटेश्वर जंगलमा सर्लाहीबाट महोत्तरीको बर्दिबास तर्फ जाँदै गरको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो।
उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ ल्याइएको छ ।
मोटरसाइकल स्मृतिले चलाएकी थिइन । पछाडि बसेकी उनकी आमाको सल मोटरसाइकलको पछाडीपट्टीको चक्कामा बेरिएर अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।
मृतक कार्कीको माइत सर्लाहीकै लालबन्दी नगरपालिका ४ हरिभवन हो। १ वर्षअघि मात्रै उनको विवाह भएको थियो।
मृतक युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।