बैतडीमा विद्युत् योजना अलपत्र, अँध्यारोमा स्वराडवासी

बैतडीमा विद्युत् योजना अलपत्र, अँध्यारोमा स्वराडवासी

बैतडी । करिब आठ करोड रुपियाँ लागतमा बन्ने भनिएको ३३ केभी मेलौली सबस्टेसन निर्माणको काम अलपत्र परेको छ । उक्त काम १८ महिनामा पूरा गरिसक्नुपर्ने सम्झौता भए पनि छ वर्षसम्म पूरा नहुँदा ६० हजार जनसङ्ख्याको बिजुली बाल्ने सपना अधुरै रहेको छ ।

तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बिजुली बाल्न विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले आर्थिक वर्ष २०७५/७६ मा आठ करोड ३२ लाख २९ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । 

ठेकेदारको लापर्बाहीका कारण १८ महिनामा गर्नुपर्ने काम ७२ महिना ९छ वर्ष० बितिसक्दा पनि आयोजनाको भवनबाहेक अन्य संरचना निर्माण भएको छैन । मेलौली नगरपालिका–१ मा ३३ केभीको सबस्टेसन निर्माण गरेर तल्लो स्वराड क्षेत्रमा बिजुली पुर्‍याउने लक्ष्य अनुसार आरके इन्टरनेसनल कम्पनीसँग ठेक्का सम्झौता भएको प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख जङ्गबहादुर चन्दले बताए । 

उहाँले १८ महिनामा काम सक्ने सम्झौता भए पनि आव २०७५/७६ देखि आव २०७/८० सम्म पूरा हुन सकेको छैन । ठेकेदारलाई दुई पटक म्याद थपिसकेको जानकारी दिँदै उहाँले ठेक्का तोडेर कारबाही गर्न सकिने भए पनि आयोजनाको काम गर्न पुनः अर्को ठेक्का खोल्नुपर्ने भएकाले समस्या भएको बताए। निर्माण कार्यमा संलग्न कम्पनीले दुई पटक म्याद थपको सुविधा पाएसँगै चार करोड ५१ लाख ५३ हजार रुपियाँ भुक्तानी पनि लगिसकेको छ । दुई पटक म्याद थप्दा पनि काम पूरा नभएपछि फेरि तेस्रो पटक म्याद थपेर २०८१ साल असारभित्र काम सक्ने तयारी भइरहेको छ । 

आरके इन्टरनेसनल कम्पनीले हालसम्म साढे चार करोडभन्दा बढी रकम भुक्तानी लिइसकेको कार्यालयका लेखा प्रमुख धनीदत्त बजगाईंले जानकारी दिए। आयोजनाको कुल लागतको आधा रकमभन्दा बढी भुक्तानी भइसक्दा पनि विद्युत् सबस्टेसनको भवन निर्माणबाहेक अन्य काम हुन सकेको छैन । ठेकेदारले सबस्टेसनमा विद्युतीय मेसिन उपकरण जडान र लाइन विस्तारका लागि तार र पोल नल्याएको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरद नेगीले बताए। यहाँका बासिन्दा बिजुली बल्छ भनेर छ वर्षदेखि प्रतीक्षामा बसे पनि भवनबाहेक कुनै संरचना नबन्दा निराश बनेका छन् ।

सो आयोजना अलपत्र परेपछि स्वराडवासीले भारतीय गाउँको बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य हुनु परेको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताए । मेलौली सबस्टेसन निर्माणको काम अलपत्र परेको विषयमा प्रादेशिक कार्यालयदेखि काठमाडौँसम्म धाए पनि सुनुवाइ नभएको गुनासो स्थानीयको छ । उहाँले गुनासो लगेर पटक पटक दुःख भोग्नु परेपछि हालः मेलौली नगरपालिका–९ मा छिमेकी जिल्ला डडेलधुराबाट बिजुली ल्याउन वडा कार्यालयबाट पहल भइरहेको जानकारी दिए ।   गोरखापत्रबाट