गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु

काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि आज बिहान मृत्यु भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको गोदावरी-४ का वडाअध्यक्ष सानुभाई नगरकोटीले जानकारी दिए।

गोदावरी नगरपालिकाभित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएका थिए। शंकरको उपचारका क्रममा मंगलबार दिउँसो र रमेशको आज बिहान निधन भएको हो।

नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन।