अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालयमा दुई दिन बन्द

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालयमा दुई दिन बन्द

बुटवल । अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बिहीबार र शुक्रबार उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

वैशाखको पहिलो सातादेखि बुटवल–भैरहवा क्षेत्रमा गर्मी बढ्दै गएको छ । पछिल्लो एक साताको तापक्रम ३८ देखि ४३ डिग्रीसम्म मापन भएको छ । बिहानैदेखि तातो हावा चल्ने गरेको छ ।

मंगलबार र बुधबार बुटवलमा ४२ र भैरहवामा ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । सडकको धूलो धुँवासँगै लामो समय पानी नपर्दा वायुमण्डल दूषितबन्दै गएको छ ।