धादिङमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

धादिङमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।

यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन्। गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन्।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए। पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ। गोठमा बाँधेको एउटा गाई पनि मरेको छ।