मार्तडी कोल्टी सडक ठेकेदारको लापरबाहीका कारण अलपत्र

मार्तडी कोल्टी सडक ठेकेदारको लापरबाहीका कारण अलपत्र

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। सडक निर्माणको शिलान्यास भएको २५ वर्ष पूरा भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन।

यतिका वर्षसम्म पनि सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। कालोपत्रे गरिसक्नुपर्ने सडक अलपत्र अवस्थामा छ । स्थानीयवासीका अनुसार सडक निर्माणको जिम्मा लिएका तीन वटा ठेकेदार कम्पनी बेपत्ता भएका छन् ।

सडक निर्माण कम्पनीले नै लापरबाही र ढिलासुस्ती गरेका कारण सडक निर्माण कार्यमा ढिलाइ भएर कालोपत्रे हुन नसकेको बताइन्छ । जिल्ला प्रशासन कार्यालयले ठेकेदार कम्पनीलाई सडक निर्माणका लागि बारम्बार ताकिता गरे पनि ढिलाइ भइरहेको छ । मार्तडी–कोल्टी सडक निर्माणका लागि २०७८ साल असारबाट काम सुरु गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ  बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडा र पिएस बानियाँ जेभीले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

उक्त सडकका लागि एक अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपियाँ बजेट पनि विनियोजन गरिएको थियो । सो रकममध्ये ८८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सदरमुकाम मार्तडी बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्न २८ करोड रुपियाँमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँले जिम्मा लिएको थियो ।

त्यसै गरी चुथीदेखि डम्कनेसम्मको छ किलोमिटर र डम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर गरी ३२ किलोमिटर सडक बानियाँ कोटेश्वर जेभी हेटौँडाले ५० करोड रुपियाँमा जिम्मा लिएको थियो । मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे सुरु गरे पनि ३२ किलोमिटर सडक अलपत्र अवस्थामा छ । सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न ८८ करोड रुपियाँमा ठेक्का सम्झौता गरेका यी तीन निर्माण कम्पनीमध्ये दुई कम्पनीले कछुवा गतिमा काम गरिरहेका पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका निमित्त कार्यालय प्रमुख रुद्रबहादुर बोगटीले बताए ।