सुदूरपश्चिम मुख्यमन्त्री सोडारीलाई विश्वासको मतबारे एमालेले केन्द्रसँग परामर्श गरेर निर्णय लिने

सुदूरपश्चिम मुख्यमन्त्री सोडारीलाई विश्वासको मतबारे एमालेले केन्द्रसँग परामर्श गरेर निर्णय लिने

धनगढी ।  सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने नदिनेबारे एमालेले पार्टीको नेतृत्वसँग छलफल गरेर निर्क्यौल गर्ने भएको छ।

सुदूरपश्चिममा एमालेको चाहनाविपरीत एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्री बनाएको थियो। त्यसकारण उनलाई विश्वासको मत दिनेरनदिनेबारे एमाले केन्द्रीय नेतृत्वसँगै परामर्श गरेर अगाडि बढ्न लागेको हो।

त्यसका लागि एमाले सुदूरपश्चिम दल नेता राजेन्द्रसिंह रावल शनिबार काठमाडौं पुगेका छन्।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार प्रदेशसभा डाकिएको थियो तर विश्वासको मत दिन एमाले तयार नभएपछि बैठक आजका साँझ ५ बजे बस्नेगरी सारिएको थियो।

तर, बैठक राखिएकै दिन एमाले दल नेता काठमाडौं हानिएपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रक्रिया थप अन्योल बनेको हो।

यसले मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत नदिने हो कि भन्ने चिन्ता समेत थपेको छ भने गठबन्धनका अन्य नेताहरू सशंकित भएका छन्।

 एमाले प्रदेश संसदीय दलका नेता  रावलले शीर्ष नेतासंग सल्लाह र छलफलपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए।

‘अझै समय छ, मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्नुपर्ने कारण केही छैन,  हामी  आन्तरिक छलफल र परामर्शमा पनि छौं, त्यस्तो खास छुट्टै केही होइन आन्तरिक कुरा मिलाएर मत दिन्छौं , उनले भने।

सोडारी एमालेका नयाँ निर्वाचित प्रदेशसभा सदस्य  बाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसदका समर्थनमा   बैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।

एमालेमात्रै होइन सुदूरपश्चिम मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्तिमा पनि दुई धार छ। रेशम चौधरी पक्षले मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप नै लगाएको छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ सांसद सरकारमा छन्।

 नागरिक उन्मुक्तिका रेशम पक्षका पाँच जना सासंद मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा छन्।

मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्छ।