मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले हतार नगर्ने

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले हतार नगर्ने

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट विश्वासको मत दिन हतार नगर्ने भएको छ ।

यसअघि शुक्रबार विश्वासको मत  लिने तयारी गरेका मुख्यमन्त्री  सोडारीलाई एमालेले मत नदिने भएपछि शनिबार सारिएको थियो । तर, शनिबार पनि एमालेले मत नदिने भनेपछि अहिले बैठक अनिश्चित कालिका लागि स्थगित भएको छ ।

सुदूरपश्चिममा एमालेले सुरुमा सोडारीलाई नस्वीकार्ने बताएको थियो । तर, उक्त अडान कायमै राख्दा सत्ता गठबन्धनमा गडबड आउने संकेत देखिएपछि एमाले आफ्नो अडानबाट पछि हटेको थियो ।

सुदूरपश्चिममा किचलो कायमै रहँदा प्रदेशसभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तथा प्रमुख सचेतक सुरेन्द्र पाल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नका लागि शनिबार बालकोट पुगेका थिए । उक्त भेटमा ओलीले उनीहरूलाई सोडारीलाई विश्वासको मत दिन हतारो नगर्न निर्देशन दिएका हुन् ।

सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विश्वासको मत लिन उनलाई ५ जेठसम्मको समय छ ।  ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एस, नाउपा र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ ।

प्रदेशसभामा हाल कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् ।