जापानी विदेशमन्त्री कामिकावा नेपालमा

जापानी विदेशमन्त्री कामिकावा नेपालमा

काठमाडौं । जापानका विदेशमन्त्री योको कामिकावा नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
 
भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री योको कामिकावाले आइतबार नै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । 

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री योको कामिकावा भ्रमण सम्पन्न गरी आइतबार राति नै नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछिन् ।