प्रदेश सरकार प्रतिपक्षीको अवरोध देखाएर आफ्नै सासंदहरुसित भाग्दै

प्रदेश सरकार प्रतिपक्षीको अवरोध देखाएर आफ्नै सासंदहरुसित भाग्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको असार ११ गतेका लागि तोकिएको बैठक पनि स्थगित गरिएको छ।असार ५ गते प्रतिपक्षी सांसदहरुको अवरोधपछि स्थगित भएको प्रदेश सभाको बैठक त्यसपछि बस्न सकेको छैन् । असार ८ गते बिहानका लागि तोकिएको बैठक समेत स्थगित गरिएको थियो ।

असार ८ गतेको बैठक स्थगित भएपछि ११ गतेका लागि तोकिएको बैठक सञ्चालन गर्न सभामुख अर्जुन बहादुर थापाले निकै प्रयास गरे पनि अनितममा आएर सो बैठक समेत स्थगित गर्नुपरेको छ ।सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले सभामुख थापासित सदन स्थगित गरिदिन आग्रह गर्नुभएको हो ।

११ गतेको बैठक स्थगित गर्न सूचना जारी गर्दै प्रदेश सभा सचिवालयले १२ गते दिउँसो ३ बजे बैठक बस्ने जानकारी गराएको छ । सचिवालयका तर्फबाट ११ गतेको बैठक स्थगित गरिएको सबै सासंदहरुलाई एसएमएस गरी जानकारी दिइएको र सूचना पाटीमा सूचना टाँसिएको प्रदेश सभा सचिव रामसिंह धामीले जानकारी दिनुभयो । 

प्रतिपक्षी दलका सासंदहरुले अवरोध गरेपछि सभा सञ्चालनका लागि उनीहरुसित छलफल गर्नका लागि पटक पटक बैठक स्थगित गरिदै आएको छ । बैठक स्थगित गरिनुको कारण प्रतिपक्षी सांसदहरुको अवरोधलाई बताइए पनि सत्तापक्षकै सांसदहरुले सभामा गर्ने विरोध थेग्न सकने अवस्थामा सरकार नरहेका कारण बैठक स्थगित गरिदै आएको छ । 

मंगलबार बैठक स्थगित भएको जानकारी पाएपछि प्रतिक्रिया दिँदै सत्तापक्षीय एकजना सांसदले संसदीय दलको बैठकमा गरेको प्रतिबद्धता बिपरित आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट बिनियोजन गरेको र योजना बनाएको भेटिएकोले सो विरोध सदन मै हुने स्थिति देखेपछि आर्थिक मामिला मन्त्रीले बैठक स्थगित गर्न लगाएको बताउनुभयो । 

असार ५ गते प्रतिपक्षीको अवरोधले सदन स्थगित भएको र सत्तापक्षले प्रतिपक्षसित छलफल गर्न समय नपाएकोले फेरी एक पटक बैठक स्थगित गरी सदन भन्दा बाहिर नै सहमतिको  प्रयासका लागि बाताबरण बनाउन आग्रह गरेपछि आफुले एक दिनका लागि बैठक स्थगित गरेको सभामुख थापाले जानकारी दिनुभयो । 

सरकारले प्रतिपक्षीसित छलफल हुन नसकेको भन्दै बैठक स्थगित गरिरहे पनि आफ्नै दलका सासंदहरुलाई विरोध नगर्न पार्टी हाइ कमाण्डबाट निर्देशन गराउने र त्यसपछि मात्रै सदन सञ्चालन गर्ने मनस्थितिमा आर्थिक मामिला मन्त्री रहेको आरोप लगाउँदै एकजना सत्तापक्षीय सांसदले सासंदहरुलाई मन्त्रीले उपेक्षा गरिरहने, अनि हाइ कमाण्डबाट निर्देशन गराएर आफ्नो टाउको लुकाउने प्रयास गरिरहने काम भइरहेकोले सासंदहरुले बजेटको विरोधमा बोल्दा हाइ कमाण्डको निर्देशन आए पनि अवज्ञा गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले प्रदेश सभाले पारित गरेको सुशासन ऐनको मर्म विपरित बजेट आएको बताउनुभयो ।