राजीनामा दिएको १५ दिनमा जसपा मन्त्री अहिर फर्किए मन्त्रालय

राजीनामा दिएको १५ दिनमा जसपा मन्त्री अहिर फर्किए मन्त्रालय

जनता समाजवादी पार्टी नेपालबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका भण्डारीलाल अहिरले गत वैशाख ९ गते मन्त्री पदबाट राजीनामा दिए।

मुख्यमन्त्री जोखबहादुर महराले अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका थिए।

गत चैत २२ गते सत्ता साझेदार दलहरूबीच जसपालाई दुई मन्त्री दिने सहमति भएको थियो। तर मुख्यमन्त्री महराले उक्त सहमति कार्यान्वयन नगरेको भन्दै अहिरले गत वैशाख ९ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

जसपा वैशाख ९ मै लुम्बिनी सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने यथावत नै राखेको थियो।

लुम्बिनीमा जसपाका तीन जना सांसद छन्।

लुम्बिनीमा महरा सरकार बनाउँदा जसपालाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने सहमति थियो। तर मुख्यमन्त्री महराले जसपालाई एक मन्त्रालय मात्र दिन सकिने बताएका थिए।

अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रीबाट राजीनामा दिए पनि स्वीकृत भइसकेको थिएन।

अहिर सोमबार मन्त्रालय गएर पदभार ग्रहण गरेको उनका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले बताए। मन्त्री पदबाट राजीनामा दिएको १५ दिनपछि अहिर मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

जसपा नेपालबाट प्रतिनिधि सभाका ७ सांसद अलगिएर आइतबार नयाँ पार्टी जसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। बदलिएको परिस्थितिबीच अहिरले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।