श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६, सबुनीकी ललिता कँहारलाई उनका श्रीमान जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको थियो । 

प्रहरीले कँहारलाई सोमबार बिहान ८ः३० बजे पाल्हीनन्दन गाउँपालिका-६, पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए । उनका अनुसार श्रीमानश्रीमतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । आठ वर्षअगाडि विवाह भएका उनीहरूको दुई छोरा छन् । 

भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमान्‌सँग ६ महिनाअघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान् जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ  । 

प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।