उपमहानगरमा फोहोर ब्यवस्थापन चुनौति बन्दै

उपमहानगरमा फोहोर ब्यवस्थापन चुनौति बन्दै

धनगढी  धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडको कार्यकक्षतर्फ जाने मुल ढोकामै उपमहानगरको गौरब गर्न लायक परियोजना भन्दै प्रस्तावित फोहरमैला ब्यवस्थापन केन्द्रको नक्सा सहितको बोर्ड राखिएको छ । तर धनगढीको मुख्य बजारको सडक किनारमा बिहानै थुप्रिने फोहरले यो बोर्डलाई गिज्याइरहेको हुन्छ । 
धनगढीको मुख्य बजारमा जिल्लाकै प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालयको मूल गेट नजिकै, पशु सेवा कार्यालयको अगाडिपट्टि र संघीय प्रहरी इकाई कार्यालयको अगाडि मुल सडकमा बिहानै फोहोरको डुंगुर थुप्रिन्छ । १० बज्दा सम्म उपमहानगरको सरसफाई टोलीले त्यो फोहर आफ्नो ट्याक्टरमा राखेर लैजान्छ । तर लगेर फाल्ने कहाँ ? उपमहानगरको अहिलेको प्रमुख समस्या यही हो ।

“अहिले वडा नम्बर १ को शिबनगरमा नगरपालिकाको जग्गा छ, त्यहाँ खाल्डो भएकोले त्यही फाल्ने गरेका छौं”–उपमहानगरको सामुदायिक विकास शाखाका प्रमुख टंक बिष्टले भने । शिबनगरमा फोहोर फाल्न थालिएको पनि धेरै भएको छैन् । यस अघि उपमहानगरले नगर भित्रका अन्य होचो र खाल्डो भएका स्थानमा पनि फोहोर फाल्ने गरेको थियो ।
धनगढी उपमहानगरपालिकाका १९ वडा मध्ये मुख्य शहरी क्षेत्र रहेका वडा नम्बर १, २, ३, ४, ५,  ७ र ८ बाट मात्रै दैनिक १६ मेट्रिक टन फोहोर संकलन हुन्छ । उपमहानगरको फोहोर ब्यवस्थापनको जिम्मेवारी रहेको सामुदायिक विकास शाखाका अनुसार वडा नम्बर ७ र ८ को ब्यवसायिक क्षेत्रबाट मात्रै फोहोर संकलन गरिन्छ । वडा नम्बर १, २, ३, ४ र ५ मा बस्ती क्षेत्रबाट पनि फोहोर संकलन गर्ने गरिएको छ । अहिले फोहोर संकलन गर्दा सड्ने र नसड्ने दुबै खाले फोहोरलाई संगै संकलन गर्ने गरिएको छ ।

शहरीकरण बढ्दै गएसंगै फोहोर ब्यवस्थापन चुनौति बन्दै गएको उपमहानगरको ठम्याई छ । अल्पकालीन समाधानका लागि उपमहानगरपालिकाको स्वामत्विमा रहेका गहिरो भू–भागका जमिनहरुमा फाल्ने गरिए पनि त्यसले भोली समस्या निम्तिने भएकोले दीगो समाधानको प्रयास भइरहेको उपमहानगरका प्रमुख नृप बहादुर वड बताउँछन् । 
धनगढी उपमहानगर क्षेत्रमा एसियाली विकास बैंकको ऋण सहयोगमा संचालन हुन गइरहेको क्षेत्रीय शहरी विकास आयोजनाले समेत फोहोरमैला ब्यवस्थापन केन्द्र बनाउने तयारी गरेको थियो । यही आयोजनाले बनाउने तयारी गरेको फोहोरमैला ब्यवस्थापन केन्द्रको बिस्तृत नक्सा मेयरको कार्यकक्ष प्रवेश गर्ने मूल ढोकामा झुण्ड्याइएको छ । तर फोहोर ब्यवस्थापन केन्द्र स्थापनाका लागि उपमहानगरपालिकाले तोकेको स्थानका जनता भने कुनै पनि हालतमा त्यहाँ फोहोर मैला ब्यवस्थापन केन्द्र स्थापना हुन दिने पक्षमा छैनन् । वडा नम्बर २ को भारतीय सीमा नजिक मोहना नदीको किनारको भू–भागमा उपमहानगरले फोहोरमैला ब्यवस्थापन केन्द्र बनाउन खोजिरहेको छ ।

तर त्यहाँ जाँदा वडा नम्बर १ को बस्तीहरु भएर जानुपर्ने भएपछि वडा नम्बर १ को सरस्वतीनगरका बासिन्दाले त्यहाँ बनाउन नदिन आन्दोलन नै गरिरहेका छन् । वडा नम्बर १ का पूर्व अध्यक्ष समेत रहेका सरस्वतीनगरका बासिनदा कृष्ण मल्लले फोहोरमैला ब्यवस्थापन केनद्रका कारण स्थानीयमा श्वासप्रवासको रोग लाग्न सक्ने र खानेपानी समेत दुषित हुने भएपछि आफुहरुले त्यसको बिरोध गरिरहेको बताए ।  
उपमहानगरपालिकाले फोहोर गरे बाफत होटल, रेष्टुरेण्ट, पसल र शहरी क्षेत्रका घरधनिहरुसित केही कर संकलन गरिरहेको छ । धनगढी–१ को पशु सेवा कार्यालय नजिकै घर भएका शैलेन्द्र भट्टले चोकमा फोहार थुपार्ने र ट्याक्टरमा राखेर अन्यत्र लैजाने गरिएपनि त्यसले फोहोरमैलाको उचित ब्यवस्थापन हुन नसक्ने बताए । पशु सेवा कार्यालयको नजिकै उपमहानगरपालिकाले फोहोर थुपार्ने गरेको छ । “कुनै दिन बन्द परिदियो भने दिनभरी फोहार त्यही हुन्छ, त्यसले वरीपरीका मान्छे र बटुवालाई समेत असर गरिरहन्छ”– भट्टले भने । 
धनगढीको मुख्य बजारमा रहेको सेती अस्पताल संगै जोडिएर अहिले चारवटा निजी अस्पताल सञ्चालनमा छन् । अस्पतालहरुले समेत फोहोर ब्यवस्थापनको उचित प्रवन्ध गरिरहेका छैनन् । अस्पतालको फोहोर घरबाट, होटल, रेष्टुरेण्ट र अन्य ब्यवासयिक क्षेत्रबाट निस्कने फोहर भन्दा खतरनाक हुन्छ । मानव शरीरमा लागेका घाउचोट सफा गरिएका कपडा, शल्यक्रिया गरिएका मानव अङ्ग समेत त्यो फोहोरमा हुन्छन् ।

अहिले सबै खाले फोहोर एकै तरिकाले संकलन गर्ने र ब्यवस्थापन गर्ने काम भइरहेको छ । उपमहानगरका सफाई कर्मचारीले अस्पतालको फोहोर संकलन गर्दैनन् । यस्तो फोहोर निजी क्षेत्रबाट संकलन गरिदै आएको छ । नजी क्षेत्रबाट संकलन गरिने यस्तो फोहारे कहाँ लगेर बिसर्जन गरिनछ, कसैको जानकारीमा छैन् । उपमहानगरपालिकाको फोहरो ब्यवस्थापनको जिम्मेवारी लिएको सामुदायिक विकास शाखाका प्रमुख टंक बिष्ट अस्पतालको फोहारे कहाँ लगिन्छ भन्नेमा आफुहरुलाई कुनै जानकारी नभएको बताउँछन् । 
अस्पतालमा स्थान अभावका कारण एक संस्थालाई निश्चित रकम तिरेर फोहोर ब्यवस्थापन गर्दै आएको धनगढीको मुख्य बजारमा रहेको सिटी पोलिक्निकका एक कर्मचारीले बताए । 
ब्यवस्थित फोहोरमैला ब्यवस्थापन केन्द्र बनाउन नसक्दा जहाँ गहिरो सार्वजनिक जग्गा देख्यो त्यही फोहोर फाल्ने गरिएको छ । उपमहानगरपालिकाले यसरी अस्थायी रुपमा गरिरहेको ब्यवस्थापनले भोली फेरी समस्या निम्तिने खतरा रहेको छ । भोलीको समस्यालाई उपमहानगरले पनि आकंलन गरेको छ । मेयर वड भन्छन्–“शहरी क्षेत्र र शहरी जनसंख्या बढ्दै गएको छ, त्यसले फोहोर बयवस्थापन चुनौतिपूर्ण बनदै गएको छ, जग्गा खोज्यौं तर स्थानीयको अवरोधले काम गर्न पाइरहेका छैनौं, छिट्टै नया ब्यवस्थापनको खोजी गर्छौं ।”