मुख्यमन्त्री सोडारीको विश्वासको मत अनिश्चित बन्दै

मुख्यमन्त्री सोडारीको विश्वासको मत अनिश्चित बन्दै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन सकेका छैनन्। बैशाख २१ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सोडारीलाई एमालेले सल्लाह नै नगरी विश्वासको मत लिन लागेको बताएपछि अहिलेसम्म विश्वासको मत लिने कार्य अघि बढ्न सकेको छैन् ।

एमालेले सल्लाह नै नगरी विश्वासको मत लिन लागेको बताएपछि शनिबार २२ गते साँझ ५ बजेका लागि सारिएको बैठकमा पनि एमाले विश्वासको मत दिन तयार भएन ।त्यसपछि बैठक बस्ने दिन एमाले संसदीय दलका नेता राजेन्द्र रावल काठमाडौं हिँडिदिएपछि स्थगित भएको प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । उता केन्द्रमा पनी एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको इगो पनि मुख्यमन्त्री सोडारी झन अप्ठ्यारोमा परेका छन् । केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख ६ गते नियुक्त दीर्घ सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिन आनाकानी गरिरहेको छ ।

एमालेले वैशाख १५ गते बझाङ १ मा भएको उपनिर्वाचनमा विजयी दमनबहादुर भण्डारीले प्रदेश सभा सदस्यको शपथ नलिएसम्म विश्वासको मत नदिने अडान लिएको छ । यता सोडारीलाई विश्वासको मत लिन हतार परेको छ । हतारमा रहेको सोडारीलाई एमाले अल्झाइदिएको छ ।

एमालेले विश्वासको मतमा ढिलाइको कारण दमन भण्डारी बुवाको काजकिरियामा रहेको देखाए पनि मुख्य समस्या केन्द्रको गठबन्धन हो । केन्द्रमा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल प्रधानमन्त्रीका लागि नेपाली कांग्रेससँगको संवाद र अरु विकल्पको खोजीमा रहेको थाहा पाएसँगै एमाले अध्यक्ष ओली बिच्किएका छन् । नेपाल–ओली सम्बन्धमा समस्या देखिँदा त्यसको असर सुदूरपश्चिम सरकारमा पनि परेको हो ।

बझाङमा विजयी दमनले बाबुको काजकिरिया सकेर बाहिर निस्किने तयारीमा छन् । उनी वैशाख २६ गते धनगढी झरेर २७ गते मात्रै प्रदेश सभामा उपस्थित हुने तयारीमा छन् ।एमालेका एक नेताले दमन धनगढीमा उपस्थित भए पनि केन्द्रबाट आदेश नआएमा कार्यक्रम फेरबदल पनि हुन सक्ने बताए ।यस्तो अवस्थामा सोडारीले वैशाख २७ अगाडि विश्वासको मत लिने सम्भावना कम छ । एमाले दलका नेता राजेन्द्र रावल दमन भण्डारीले शपथ लिएपछि मात्रै सोडारीलाई विश्वासको मत दिन सकिने बताउँछन् ।एमालेले एक सिट बढाएको बताउँदै त्यसले सोडारीलाई नै फाइदा गर्ने बताए । हामीले विश्वासको मत दिने साथी बढाएका छौं । यो कुरा त उहाँहरूले पनि बुझ्नपर्यो नि’, उनले भने ।

मुख्यमन्त्री सोडारी आफूले हतार गरेको कुरा स्वीकार्छन्। हामी अहिले छलफलमा छौं । छिट्टै विश्वासको मत लिन्छौँ । एमालेका साथीहरूले असहयोग गर्नुभएको छैन उनले भने ।उता दमनलाई तत्काल शपथ नगराउन एमाले अध्यक्ष ओलीले शनिबार नेता रावललाई बालकोटमा बोलाएर निर्देशन दिएको एमाले स्रोतको दाबी छ ।स्रोतका अनुसार तत्कालीन नेकपा र एमालेमा विभाजनमा जाँदा माधव नेपाल समूहमा रहेका सोडारीलाई एमाले अध्यक्ष ओली र अन्य नेताहरूले रुचाएका छैनन् । ‘सुदूरपश्चिममा मुख्यमन्त्री बनाउँदा पात्र पनि गतिलो छानिएन ओली र उनीनिकट नेताहरूको निष्कर्ष छ ।एमाले संसदीय दलका नेता रावल शनिबार काठमाडौं आएर ओलीलाई भेट्न बालकोट पुगेका थिए । स्रोतका अनुसार रावलाई ओलीले तत्काल विश्वासको मत नदिनू भनेका छन् । यसबारे रावलले कुनै प्रतिक्रिया दिएनन् । उनले समय आएपछि भन्ने र अध्यक्षसँग मेरो निजी वार्ता भएको बताए ।

रावलले यसो भने पनि एमालेले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई झुलाउन चाहेको छ । ती नेताले भनेसत्तामा रहेर सत्ताकै सहयात्रीलाई नमानेपछि समस्या अवश्य आउँछ ।केन्द्रमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग मिलेर माधव नेपाल नयाँ सत्ता समीकरणमा लागेको सुइँको पाएसँगै ओली आक्रोशित छन् । ओलीले रसुवा पुगेर प्रधानमन्त्री नपाएर केही मान्छे ह¥याक ह¥याक गरिरहेको भन्दै माधव नेपालतिर कटाक्ष गरे । त्यसलगत्तै नेपाललाई प्रधानमन्त्री बनाउन बल दिने जसपाका १२ मध्ये ७ सांसदले नयाँ दल खोलेका छन ।

रावल शनिबार काठमाडौं आएर बालकोट पुगे । उता मुख्यमन्त्री सोडारी पनि आइतबार काठमाडौं आएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटिसकेका छन् । नेपालले पनि २६ गतेसम्म पर्खिने बताएका छन् ।केही समस्या केही छैन । अदालतको फैसला पनि आउँछ । हाम्रा साथी पनि बुवाको काम सकेर निस्किनु हुन्छ । अनि विश्वास लिन सहज हुन्छ’, उनले भने ।सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टी  नाउपा का सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर, सर्वोच्च अदालतले वैशाख १० गते सुदूरपश्चिम प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । यसबारे सर्वोच्चको अन्तिम आदेश पनि पर्खिनुपर्ने एमालेको मत छ । रावलले सर्वोच्चको फैसला पनि त पर्खनु पर्ने बताए ।सत्ता साझेदार नेकपा एमाले र समाजवादीबीच फुट अघिबाटै चलेको झगडा साम्य हुन सकेको छैन । गत फागुन ३० देखि सत्ता सहयात्री बनेका दुई दलका शीर्ष नेताबीच आरोप–प्रत्यारोप उस्तै छ । फागुन २१ मा नेपाल फकाउन कोटेश्वर पुगेका ओली फेरि आक्रोशित छन् । उता नेपाल पनि दम्भ नघटेको भन्दै ओलीसँग रुष्ट बनेका छन् ।प्रदेशसभामा हाल कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।