बढी भाडा लिने सात वटा ट्याक्सी कारबाहीमा

बढी भाडा लिने सात वटा ट्याक्सी कारबाहीमा

सार्वजनिक यातायातमध्येको चार पाङ्ग्रे सवारी साधनमा यात्रुहरु ठगिएको जनगुनासो बढ्दै गएपछि रूपन्देही जिल्लामा सञ्चालन भएका ट्याक्सीको भाडादर कायम गरिएको छ ।

विशेष गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा बुटवल र भैरहवाबिच चल्ने ट्याक्सीहरूले जति मन लाग्यो त्यति ट्याक्सी भाडा लिने गरेको र यात्रुहरू मर्कामा परेको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले भाडादर कायम गर्न पहल गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्नुभयो “रूपन्देही जिल्लामा ट्याक्सीको विषयमा धेरै गुनासाहरू आए, जिल्ला बाहिरका व्यक्तिहरूले पनि ट्याक्सी भाडा महँगो भएको बताउन थालेपछि भाडादर कायम गर्नुपर्छ र एकरूपता हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गरी भाडादर कायम गरिएको हो ।”

रूपन्देहीका ट्याक्सीहरूमा मिटर जडान नभएकाले तत्कालका लागि असार मसान्तसम्म जिल्लामा दूरीका आधारमा भाडादर कायम भएको छ । उहाँले भन्नुभयो, “साउन महिनादेखि केन्द्रीय निकायसँग पहल गरी दीर्घकालीन समाधान खोज्छौं ।

गत वर्षको चैत ९ गते जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाइको संयोजकत्वमा बसेको मार्ग तथा भाडा निर्धारण समितिको बैठकको निर्णय अनुसार रूपन्देही जिल्लाभित्र ट्याक्सीको भाडादर निर्धारण गरिएको हो ।

बैठकमा जिल्ला समन्वय समितिसँगै, जिल्ला प्रशासन, रूपन्देही प्रहरी, रूपन्देही ट्राफिक, नगरपालिका उद्योग वाणिज्य सङ्घ, ट्याक्सी चालक सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च लगायतको छलफलपछि ट्याक्सीहरुको भाडादर कायम गर्ने निर्णय भएकोमा चैत तेस्रो साताबाट भाडादर लागू हुँदै आएको हो ।

निर्धारित भाडादरभन्दा बढी भाडा असुलेको पाइएको गुनासो आएपछि प्रजिअ अर्याल आफैँ अनुगमनमा जाँदा बढी भाडा लिने सातवटा ट्याक्सी नियन्त्रणमा लिई कारबाही भएको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले तोकिएको भाडाभन्दा बढी कसैले लिए कडा कारबाही हुने बढी भाडा लिएमा आफूलाई सिधै सम्पर्क गर्न आम सर्वसाधारणमा आग्रह गर्नुभएको छ ।

कायम भएको भाडा दर अनुसार गौतमबुद्ध विमानस्थलबाट गोलपार्क बुटवलसम्मको १२ सय ६० रुपियाँ भैरहवा बुद्धचोकबाट विमानस्थलसम्म पाँच सय, मेडिकल कलेज तीन सय, बेलहिया तीन सय, भीम अस्पताल तीन सय, सिटी अस्पताल तीन सय, मङ्गलापुर पाँच सय भलवारी पाँच सय मणिग्राम पाँच सय बेथरी पाँच सय, कोटीहवा पाँच सय, योगिकुटी पाँच सय, धकधई चोक पाँच सय छपिया अमुवा आठ सय १० बुटवल बसपार्क एकहजार ८० गोलपार्क बुटवल ११ सय लुम्बिनी एकहजार ३५ परासी ११ सय ७० रुपियाँ छ ।

बेलहियाबाट विमानस्थलसम्म पाँच सय रुपियाँ भाडा कायम रहेको छ । त्यस्तैगरी बुटवल बसपार्कबाट गोलपार्कसम्म तीन सय चौराहा तीन सय, योगीकुटी तीन सय, बेसक्याम्प तीन सय, बेलबास तीन सय, मणिग्राम पाँच सय, ढवाहा पाँच सय, झोलुंगेपुल तीन सय बाल बाटिका पाँच सय, हिलपार्क तीन सय बुद्धचोक भैरहवा एकहजार ८० बेलहिया १२ सय ६०, विमानस्थल १२ सय १५ र बुटवल औद्योगिक क्षेत्रसम्मको तीन सय कायम छ ।

समितिले राती १० देखि बिहान ४ बजेसम्म तोकिएको भाडामा थप ५० प्रतिशत भाडा लिने व्यवस्था मिलाएको छ ।