कान्द्रा नदीमा तटबन्ध निर्माण

कान्द्रा नदीमा तटबन्ध निर्माण

धनगढी । कैलालीको भजनी नगरपालिकासँग जोडिएको हुलाकी राजमार्गलाई कान्द्रा नदीले क्षति पुर्‍याएपछि सो क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको छ ।  

नदीको कटान नियन्त्रण गरी राजमार्ग र नजिकको बस्ती जोगाउने उद्देश्यले सङ्घीय सरकारको लगानीमा तटबन्ध निर्माण गर्न थालिएको हो । भजनी–५ र ७ स्थित लालबोझी र कुटीमा तटबन्ध निर्माण भइरहेको राजमार्ग आयोजनाको कार्यालयले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी इन्जिनियर बर्ख कठायतका अनुसार लालबोझीमा एक हजार ८५ मिटर र कुटीमा तीन सय मिटरमा ग्याबिनसहितको तटबन्ध निर्माण भइरहेको छ ।

कान्द्रामा आएको बाढीले लालबोझीमा हुलाकी सडक कटान गर्दै आएको छ । राजमार्ग कटान गरेको क्षेत्रमा एक किलोमिटरमा कालोपत्रे सडकसहित तटबन्ध निर्माणको काम हुने कठायतले जानकारी दिए।

तटबन्ध र एक किलोमिटर कालोपत्रे निर्माणका लागि १३ करोड ७९ लाख रुपियाँमा २०८० वैशाखमा ठेक्का सम्झौता भएको हो ।