धौलीगंगा जलविद्युतको बाँध खोलिने , महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

धौलीगंगा जलविद्युतको बाँध खोलिने ,  महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

दार्चुला : दार्चुलाको सीमानासंग जोडिएको भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध बुधबार राती खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार ११ गते राति १२ बजेदेखि १२ गते बेलुका पौने ६ बजेसम्म शिफ्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।

सिफ्ट फ्लशिंगको लागी बाँधको ढोका खोलिए पश्चात नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखीम रहने हुदा सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनुभयो ।

बाँध बुधबार (आज) खोलिने भएको हुदा व्यास गाउँपालिकाको  वडा नं ५ धौलाकोट देखी लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत प्रमुख जिल्ला अधिकारी विष्टले आग्रह गर्नुभएको छ ।

दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।

सोही अनुसार नेपाली प्रशासनले नदि आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ । वि सं २०७० सालमा विना सुचना धौलीगंगाको बाँध खोलिदा महाकाली नदिमा बाढी आउदा दार्चुला सरमुकाममा सयौ घरबार तथा दर्जन सरकारी कार्यालय बगाउदा अर्बौको क्षती पुगेको थियो ।