सदनमा बजेट माथि बोल्दा सुझाव मात्रै दिन सांसदहरुलाई नेकपा हाइ कमाण्डको निर्देशन

सदनमा बजेट माथि बोल्दा सुझाव मात्रै दिन सांसदहरुलाई नेकपा हाइ कमाण्डको निर्देशन

धनगढी : आगामी आर्थिक बर्षका लागि पेश भएको बजेटमा सत्तारुढ दल नेकपाका सांसदहरुको असन्तुष्टि सम्बोधन गर्न शुक्रबार सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बसेको छ । 

नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेशका सह इञ्चार्ज लक्ष्मणदत्त जोशी र प्रदेश अध्यक्ष कर्ण थापाको उपस्थितिमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रदेश सभाबाट पारित सुशासन ऐन उंल्लंघन गरेको र पार्टीका सांसदहरुले दिएको सुझाव कार्यान्वयन नगरेको चर्को आलोचना गरेका छन् । 

मुख्यमन्त्री सहित मन्त्रीपरिषदका सबै सदस्य र सभामुख तथा उप सभामुख बाहेक नेकपाका सबै सांसदहरु उपस्थित रहेको बैठकमा सबै सासंसदहरुले पालैपालो बोलेका थिए । सांसदहरुले आफ्नो कुरा राखिसकेपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जवाफ दिने अपेक्षा गरेका थिए । तर मन्त्री बोहराले कुनै जवाफ दिनुभएन ।

सबै सांसदहरुको कुरा सुनिसकेपछि स्थायी समिति सदस्य लेखराज भट्टले बिशेष प्रकृतिका योजनाका लागि राखिएको बजेटबाट छुटेका योजनामा बजेट राख्न आर्थिक ममिला तथा योजजा मन्त्री बोहरालाई निर्देशन दिनुभएको बुझिएको छ ।

पार्टीका स्थायी समिति सदस्य भट्टले सासंदहरुलाई सदनमा बजेट माथिको छलफलमा बोल्दा सुझावको रुपमा मात्र कुरा राख्न र बजेटको विरोधमा नबोल्न निर्देशन समेत दिएको बैठकमा सहभागी एक सासंदले बताउनुभयो । 

पार्टीका प्रदेश सह इञ्चार्ज लक्ष्मण दत्त जोशीले प्राथमिकतामा छुटेका योजना योजना बैंकमा समेट्न र पार्टी र सासंदको सिफारिस नदेखिएको योजना कार्यान्वयनमा प्राथमिकता नदिन सुझाव दिनुभएको एक जना सासंदले बताउनुभयो ।

नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले भने आर्थिक मामिला मन्त्री बोहराको बचाउ गर्दै कार्यान्वयनको बाटो हेरेर बजेट बनाइएको बताएको बुझिएको छ । 

नेकपाको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले दलको बैठक बिशेष रुपमा पार्टीका सासंदहरुको असन्तुष्टि भन्दा पनि प्रतिपक्षले गरिरहेको अवरोधमा केन्द्रित भएको बताउनुभयो । पार्टीका स्थायी समिति सदस्य भट्टले बजेटको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुसित सहमतिको प्रयास गर्न सुझाव दिनुभएको तामाङले बताउनुभयो ।

सहमति नजुटे लामो समय सम्म सदन अवरुद्ध नगर्न र बजेट माथिको छलफलमा दलका तर्फबाट सबै सासंदहरुले भाग लिन निर्देशन समेत दिनुभएको बताइए पनि प्रमुख सचेतक तामाङले कुटनीतिक जवाफ दिँदै सकेसम्म सहममतिको प्रयास गर्न नेता भट्टले सुझाव दिएको बताउनुभयो । 

बिहीबार काठमाण्डौं जानु अघि प्रदेश राजधानीमा पार्टीका सांसदहरुसितको अनौपचारिक छलफलमा नेकपाका स्थायी समिमति सदस्य तथा प्रदेश इञ्चार्ज भीम रावलले पनि बिशेष खालकका योजनाका लागि राखिएकको बजेटबाट प्रतिपक्षी सांसदहरुले उठाएका कुरा समेटेर विवाद सुल्झाउन निर्देशन दिएको बताइन्छ ।

रावलले समेत सहमति हुन नसके बहुमतीय पद्धतिका आधारमा बजेट पारित गरी कार्यान्वयनमा जान निर्देशन दिएको स्रोतले बताएको छ । सदनमा प्रतिपक्षीको अवरोध हटाउन केही दिन सहमतिका लागि प्रयास गर्ने र सहमति हुन नसके पाटीको निर्देशन अनुसार अघि बढ्ने तयारीमा नेकपा संस्दीय दल रहेको छ ।