प्रतिपक्षी सांसदहरु अनुपस्थित हुँदा प्रदेश सभाको बैठक स्थगित

प्रतिपक्षी सांसदहरु अनुपस्थित हुँदा प्रदेश सभाको बैठक स्थगित

धनगढी : आगामी आर्थिक बर्षका लागि पेश भएको बजेटमा असहमति जनाउँदै विरोधमा रहेका प्रतिपक्षी सांसदहरुले विरोधको शैली परिवर्तन गरेका छन् । आइतबारको प्रदेश सभा बैठकमा प्रतिपक्षी सांसदहरु अनुपस्थित भएपछि बैठक नै स्थगित भएको छ ।

शुक्रबारको बैठकमा नारावाजी गरेका प्रतिपक्षी सांसदहरु आइतबारको बैठकमा उपस्थित नै भएनन् । सभामुख अर्जुन बहादुर थापाले प्रतिपक्षी दलका एक जना पनि सांसद बैठकमा उपस्थित नभएका कारण बैठकको कार्वाही समाप्त भएको घोषणा गर्नुभयो । 

सभामुख थापाले प्रदेश सभाको अर्को बैठक असार १७ गतेका लागि तोक्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरुले असार ५ गते देखि नै प्रदेश सभाको बैठकमा अवरोध गर्दै आइरहेका छन् । प्रतिपक्षी सासदहरुले असार ५ गते सदन अवरुद्ध गर्दै रातो किताब जलाएपछि असार ८ गते र ११ गतेको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

त्यसपछि असार १२ गते भएको बैठकमा उनीहरुले नारावाजी गरेर अवरोध पु¥याएका थिए । आइतबारको बैठकमा उनीहरु उपस्थित नै भएनन् । आफुहरुले विरोध शैली फेरेको नेपाली कांग्रेस संसदीय दलका सचेतकक टेक बहादुर रैकाले बताउनुभयो । बजेटमा ब्यापक संशोधनको माग गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुसित सरकारले छलफल जारी राखेको छ ।

आइतबार बिहान पनि मुख्यमन्त्री त्रिचोलन भट्टको संयोजनका सरकारका मन्त्रीहरुले प्रतिपक्षी सासंदहरुसित छलफल गरेका थिए । दुबै दलका नेताहरुवीच छलफल भएपछि थप छलफल गरी निष्कर्षमा पगेपछि सदन सञ्चालन गर्ने अनौपचारिक सहमति भएको बुझिएको छ ।

आइतबारकको बबैठक स्थगित गर्ने र अर्को बैठकमा अवरोध नहुने गरी प्रतिपक्षीसित सहमति गर्ने बिषयमा पनि छलफल भएको र मुख्यमन्त्रीले आफ्नो दलका प्रमुख सचेतक तारा लामा तामाङलाई सभामुख सित समन्वय गरेर आइतबारका लागि सदन स्थगित गर्न भने पनि सभामुख अर्जुन बहादुर थापा समक्ष यो सन्देश नपुगेका कारण सदन शुरु भएर स्थगित भएको नेकपाका एक सासंदले जानकारी दिनुभयो ।

सदनमा उपस्थित नभएर विरोध गर्ने शैलीमा फरकपन ल्याएको बताएका प्रतिपक्षी सासंद रैकाले असार १७ गतेको बैठक अगाडि नै सरकार प्रतिपक्षी सित सहमतिमा आउने विश्वास लिएको बताउनुभयो । उहाँले आइतबारको बैठक स्थगित गर्ने विषयमा मुख्यमन्त्रीसित अनौपचारिक सहमति भएका कारण पनि आफुहरु सदनमा नगएको बताउनुभयो । 

सत्तापक्षका प्रममुख सचेतक तारा लामा तामाङले पार्टीको संसदीय दलले सरकारलाई प्रतिपक्षीहरुसित छलफल गर्न सुझाव दिएको र सो अनुसार छलफल भइरहेको जानकारी पनि आइएरहेको बताउनुभयो । उहाँले समेत असार १७ गतेको बैठक सम्ममा प्रतिपक्षीहरु सहमतिमा आउने बताउनुभयो ।