सुदूरपश्चिम प्रदेशमा साढे २२ प्रतिशत मात्रै रोपाई सम्पन्न

सुदूरपश्चिम प्रदेशमा साढे २२ प्रतिशत मात्रै रोपाई सम्पन्न

धनगढी : सुदुरपश्चिम प्रदेशमा पनि धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ १६ औं राष्ट्रिय धान दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । सुदुरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको मझँगाउमा राष्ट्रिय धान दिवस मनाएको छ ।

यस प्रदेशमा अहिले सम्म २२ दशमलब ५ प्रतिशत धान रोपाई सम्पन्न भएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । आकाशे पानीको भरमा निर्भर रहने सिंचाईका कारण धान रोप्न ढिलाई भएको हो ।

यस बर्ष नेपालमा ढिलो गरी मनसुन भित्रिएकाले अहिले सम्म २२ दशमलब ५ प्रतिशत धान रोपाई सम्पन्न भएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार सबै भन्दाँ बढी बझाङ जिल्लामा र सबै भन्दाँ कम कैलाली र कञ्चनपुरमा रोपाई सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ९६ हेक्टरमा धानको खेती हुदै आएको मन्त्रालयले जानकारी दिएको छ । यस प्रदेशमा धानको उत्पादन औसतमा बार्षिक ६ लाख ४८ हजार मेट्रिक टन रहेको छ ।

उत्पादकत्व प्रति हेक्टर करिब ३.३ देखि ३.५ सम्म रहेको छ । सुदुरपश्चिममा जम्मा धान खेती हुने जग्गा मध्ये ५४.२२ प्रतिशतमा मात्र सिचाई सुबिधा रहेको छ । अपर्याप्त सिंचाई सुविधाका कारण अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा धान खेती हुने गरेको उहाँले बताउनुभयो ।

यस बर्ष पनि सुदुरपश्चिम प्रदेशमा धान रोपाई समयमै सम्पन्न नहुने देखिएको छ । समयमा रोपाईं हुन नसक्दा र विभिन्न कारणले धानको उत्पादन बढ्न नसक्दा वर्षेनी भारतबाट ठूलो मात्रामा यस प्रदेशमा चामल आयात हुँदै आएको छ ।

बढ्दो जनसंख्या र परम्परागत खेती प्रणालीका कारण उत्पादन बढ्न नसकेको बेला वर्षेनी खेतीपातीको समयमा हुने मल र ईन्धनको अभावले झनै समस्या बढिरहेको छ ।