सांकेतिक विरोध स्वरुप सत्तापक्षीय सांसदहरुले छलफलमा भाग लिएनन

सांकेतिक विरोध स्वरुप सत्तापक्षीय सांसदहरुले छलफलमा भाग लिएनन

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा सोमबार देखि आगामी आर्थिक बर्षका लागि पेश भएको बजेटमाथि छलफल प्रारम्भ भएको छ ।  बजेटको विरोध गरेर हस्ताक्षर संकलन गरेका सत्तापक्षीय सांसदहरुले सांकेतिक विरोध गर्दै छलफलमा भाग लिन नमानेपछि नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ आफैले पहिलो दिन बजेट माथिको छलफमा भाग लिनुभयो।

प्रदेश सभाको कार्य ब्यवस्था परामर्श समितिका सदस्य समेत रहनुभएका प्रमुख सचेतक तामाङले टेलिफोन गरी आफ्नो पार्टीका सासंदहरुलाई बजेट माथिको छलफमा भाग लिन अनुरोध गर्नुभएपनि कोही पनि सोमबारको बैठकमा बोल्न तयार भएनन् । बजेटको विरोधमा हस्ताक्षर नगरेका सांसदहरु सोमबारको बैठकमा अनुपस्थित रहेका कारण तामाङ आफैले बोल्नु परेको थियो । 

प्रदेश सभामा शुरु भएको बजेट माथिको छलफलमा भाग लिदै प्रमुख सचेतक तामाङले प्रदेश सरकारप्रति ब्यङ्गात्मक प्रहार गर्दै कमी कमजोरी सच्याउने भनि प्रतिपक्षसित सहमति गरेकोले आफुलाई पनि सरकारप्रति आशा नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“एकदमै लोकप्रिय सरकारको एकदमै लोकप्रिय बजेट आएको छ, सरकारले सुदूरपश्चिमबासीका चाहनालाई ध्यान दिएको छु भनेको छ, दिएको पनि होला, छ भनेर भन्नुपर्ने पनि छ ।” 

तामाङ बाहेक कुनै पनि सत्ता पक्षी सांसदले सोमबारको बैठकमा छलफलमा भाग लिएनन् । त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद श्यामलाल राना थारुले सरकारले प्रतिपक्षसित गरेको सहमति अनुसार काम गर्नुपर्ने र रातो किताबमा देखिएका प्राविधिक त्रुटीहरु सच्याउनुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेसकै सांसद टेक बहादुर  रैका आउजीले सरकार समानुपातिक सांसदलाई सांसद नै नभएको जस्तो ब्यवहार गरेको आरोप लगाउनुभयो । प्रदेश सभामा बजेट माथिको छलफल निरन्तर रहने र मंगलबार बिहान साढे ८ बजे बाट थप छलफल हुने सभामुख अर्जुन बहादुर थापाले जानकारी दिनुभयो ।