अपाङ्गमैत्री भवनको माग गर्दा पक्राउ

अपाङ्गमैत्री भवनको माग गर्दा पक्राउ

कर्णाली प्रदेशका मन्त्रालय र कार्यालय अपाङ्गमैत्री नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरुले विरोध गरेका छन् । मन्त्रालय तथा मातहतका कार्यालय अपाङ्गमैत्री बनाउन बारम्बार माग गर्दैआएका उनीहरुले आज कुटो र कोदालो लिएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिँढी भत्काउने प्रयास गर्दा पक्राउ परेका हुन् ।

सिँढी भत्काउन खोज्ने १७ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । कसैलाई जानकारी नै नगराई सिधै आएर सिँढी भत्काउन थालेपछि उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । तर अपाङ्गता भएका व्यक्तिहरुले भने मन्त्रालय तथा कार्यालयहरु अपाङ्गमैत्रीमैत्री नहुँदा आफूहरुलाई असहज भएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री र मन्त्रीहरुलाई नै भेटेर पटक–पटक भन्दा पनि आफ्नो मागको बेवास्ता गरेको किशोर शाहीले बताए । ‘मुख्यमन्त्री र मन्त्रीहरु माथिल्लो तलामा बस्नुहुन्छ । हामी सिँढी चढेर माथि जान सक्दैनौँ’ किशोरले भने ‘पटक–पटक ध्यानाकषर्ण गराउँदा पनि हाम्रा माग पूरा नभएपछि सिँढी भत्काउन खाजेका हौँ ।’

उनीहरुले अपाङ्गमैत्री भवन निर्माण गरु, हाम्रा अधिकार सुनिश्चित गरु भन्दै नारा लगाएका थिए । पक्राउ पर्नेमा कृष्णबहादुर आचार्य, शान्ती भट्टाई, किशोर शाही, मनराज कठायत, खगेन्द्र शाही, सुशिला चौधरी, तर्कबहादुर विक, झक्त पौडेल, कमल शाही, धनकुमारी चौधरी, टिकाराम विक, रामकुमारी विकलगायत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता प्रतिव क्षेत्रीले मन्त्रालयको सिँढी र गमला फुटाएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।