हरैया घटनामा आफ्नो दलका नेताको नाम जोडेर बदनाम गर्न खोजिएको सत्तापक्षीय सांसदको आरोप

हरैया घटनामा आफ्नो दलका नेताको नाम जोडेर बदनाम गर्न खोजिएको सत्तापक्षीय सांसदको आरोप

धनगढी : प्रदेश सभाको सोमबारको बैठकममा बिशेष समय लिएर बोल्दै नेकपाका सांसदहरुले हरैया घटनाको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिशेष समयमा बोल्दै नेकपाका सांसद दीर्घ सोडारीले सुकुम्बासी ब्यवस्थापन गर्ने काम राज्यको भएकोले सरकारले हरैया घटना तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले हरैयामा सुकम्बासी बसाउने देखि उठाउने सम्मका घटनामा आफ्नो पार्टीका नेता लेखराज भट्टको नाम जोडेर बदनाम गराउने काम भइरहेको आरोप लगाउनुभयो । उहाँले हरैया घटनामा जग्गाका दलालहरुले पैसाको ब्ल्याकमेलिङ गरिरहेको समेत आरोप लगाउनुभयो । 

पूर्व मन्त्री समेत रहनुभएका सोडारीले संघीय सरकारका तर्फबाट २५ प्रतिशत राजश्व लिएर ५ कठ्ठा मात्रै जग्गा दिने गरी कार्यक्रा आउन लागेको आफुले जानकारी पाएको बताउँदै उहाँले ५ प्रतिशत राजश्व लिएर कम्तीमा डेढ विघा सम्म दिनुपर्ने गरी ब्यवस्था हुनुपर्ने र त्यसका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने बताउनुभयो । 

यस्तै बिशेष समयमा नै बोल्दै नेकपाकै सांसद पूर्णा जोशीले हरैयामा बसिरहेका नागरिकहरु बिभिन्न समुहबाट प्रताडित भएकोले सरकारले उनीहरुको सुरक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले ब्यक्तिको गल्तिलाई दण्डित गर्ने निकाय राज्य भएकोले गैर राज्य पक्षले अनाहकमा कसैलाई पनि दुःख दिन नहुने बताउनुभयो ।

सांसद जोशीले विवादित जग्गाबाट सुकुम्बासीलाई हटाइसकेपछि उनीहरु सोही जग्गाकको छेउमा रहेका ऐलानी जग्गामा बस्दा त्यहाँबाट समेत लेखेट्ने काम भइरहेको बताउनुभयो । 

उहाँले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी जनसंख्याकको चाप बढिरहेको र सडकहरु ब्यवस्थित नहुँदा समस्या भइरहेको समेत बताउनुभयो । “मान्छेलाई सहज रुपमा बाटो काट्नका लागि मुख्यमन्त्री कार्यालय अगाडि बनाए जस्तै प्रदेश सभा भवन अगाडि, सेती अस्पताल अगाडि र मुख्य बजारकमा बाटो काट्नु पर्ने हरेक चोकमा जेब्रा क्रसिङ बनाउन आवश्यक छ”– उहाँले भन्नुभयो। 

यस्तै प्रदेश सभाको सोमबारको बैठकमा सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तब्य र अधिकार सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ माथि बिषयगत समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको छ । 

प्रदेश सभाको प्रदेश मामिला तथा विधायन समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदन प्रस्तुत भएको हो । समितिका सभापति नेपालु चौधरीले प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा विधेयकको नाम र प्रस्तावना संगै अन्य दुई वटा दफाहरुमा संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ ।

विधेयकको प्रस्तावनामा समानुपातिक र समावेशी सिद्धान्त अनुसार ब्यवस्था नभएका कारण संशंोधन गरिएको प्रतिवदेनमा उल्लेख छ । प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो तीन बजे बस्ने छ ।