भारतले बाँध खोल्दा २ महिला महाकाली नदिमा फसे : प्रहरीद्धारा उद्धार

भारतले बाँध खोल्दा २ महिला महाकाली नदिमा फसे : प्रहरीद्धारा उद्धार

दार्चुला : दार्चुला प्रहरीले महाकाली नदिमा फसेका दुई महिलाको उद्धार गरेको छ । शुक्रबार महाकाली नदिमा दाउरा निकाल्न गएका महाकाली नगरपालिका वडा नम्वर ४ बस्ने २५ वर्षीय बसन्ती लुहार र धनरुपा पार्कीलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक मदन सिंह धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उद्धार गरेको प्रहरी निरिक्षक एवं सुचना अधिकारी प्रेम खड्काले जानकारी दिए ।

शुक्रबार दिउँसो १२ बजे तिर दाउरा निकाल्न महाकाली नदि किनार गएका बेला नदिमा एक्कासी पानीको सतह बढ्दा बिच नदिमै फसेका थिए । नदिमा पानीको सतह बढेपछि नदि वारपार गर्न नसकेको अवस्थामा प्रहरीले टोलीले देखेपछि उद्धारका लागी टोली खटिएको उहाले जनाए ।

उनीहरुलाई महाकाली नगरपालिका वडा नम्बर ४ बसपार्क स्थित बिरेन्द्र वन क्षेत्रको महाकाली नदिबाट एक घण्टा पछि शकुसल उद्धार गरिएको हो । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध बिहीबार १२ बजेदेखी खोलिएको थियो । ड्याम साइटमा गरिने सिल्ट फ्लशिंग गर्न भनेर बिहीबार राती १२ बजे देखी बाँध खोलिएका कारण नदिमा पानीको सतह बढेको हो ।

धौलीगंगा जलविद्युत परियोजनाको बाँध शनिबार बेलुका ६ ः४५ बजेसम्मका लागी खोलिएको थियो । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भदौ १२ गते राति १२ बजेदेखि १३ गते बेलुकी ६ः४५ बजेसम्म शिल्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको भएपनि यसको खासै वास्ता नगर्दा नदि तटिय क्षेत्रका बासिन्दा समस्यामा पर्ने गरेका छन् ।

वि.सं २०७० सालमा बिना सुचना धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आएर दार्चुला सरमुकामका सयौँ घर तथा दर्जन सरकारी कार्यालय बगाउदा अर्बौको क्षति भएको थियो । दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँधबाट २ सय ८० मेगावाट विद्युत शक्ति उत्पादन हुँदै आएको छ ।

धौलीगंगा र महाकाली नदीको संगम तावाघाटको नेपाल भारत सीमाबाट ६ किलोमिटर टाढा रहेको ५६ मिटर अग्लो र ३ सय १५ मिटर लामो यो नियन्त्रण ढोकायुक्त बाँध हो । बाँधले छेकिएको पानी ७० मिटरसम्म गहिरो छ । वर्सातको सिजनमा पानीको उच्च वहावका कारण बाँध भत्किने सम्भावना बढ्ने बित्तिकै भारतीय पक्षले बेला बेलामा बाँध खोल्ने गरेको छ ।