अब इन्स्टाग्राममा लाइक्स संख्या नदेखिने

अब इन्स्टाग्राममा लाइक्स संख्या नदेखिने

आफूले इन्स्टाग्राममा अपलोड गरेका फोटोहरुमा प्राप्त हुने लाइक्स गनेर मख्ख पर्नुहुन्छ ? त्यसो हो भने एउटा अप्रिय खबर छ ।

लोकप्रिय फोटो शेयर एप इन्स्टाग्रामले लाइकको संख्या नदेखाउने फिचर यही हप्ताबाट सुरुवात गर्दैछ । सुरुमा अमेरिकी प्रयोगकर्ताहरुमाझ इन्स्टाग्रामले ‘हाइड लाइक काउन्ट्स’ फिचर परीक्षण गर्न लागेको हो ।

फेसबुक स्वामित्वको सोसल प्लाटफर्म इन्स्टाग्रामका सीईओ एडम् मोसरीले शुक्रबार अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित एक समारोहमा यसको खुलासा गरेका हुन् ।

प्रयोगकर्तामा लाइक्स प्राप्त गर्ने होडबाजी तथा दबावलाई घटाउन तथा आफ्ना पोष्टमा आउने प्रतिक्रियालाई लिएर चिन्तित रहने प्रयोगकर्तालाई लक्षित गरी लाइक्सको संख्या नदेखाउने फिचर सुरु गरिने इन्स्टाग्रामले बताउँदै आएको थियो ।

सीईओ मोसरीले गत अप्रिलमा एक कार्यक्रममा भनेका थिए, ‘आफ्नो इन्स्टाग्राम पोष्टमा कति लाइक्स आए भन्ने बारेमा मानिसहरुलाई धेरै चिन्ता नहोस् भन्ने हामी चाहन्छौँ ।’ लाइक्समा अल्झिन छाडेर मानिसहरूले आफूले सरोकार राख्ने मानिसहरूसँग भेटघाट तथा सम्बन्ध विकासमा धेरै समय खर्चिनुपर्ने उनको भनाइ छ ।

इन्स्टाग्रामले यसअघि क्यानडा, आयरल्याण्ड, इटाली, जापान, ब्राजिल, अस्ट्रेलिया तथा न्युजिल्याण्डमा पनि लाइकको संख्या लुकाउने फिचरको परीक्षण गरिसकेको छ । फेसबुक स्वयंले पनि अस्ट्रेलियामा यस्तो परीक्षण गरिरहेको छ ।

इन्स्टाग्रामका प्रवक्ताका अनुसार, मानिसहरूले इन्स्टाग्राममा कुनै पोष्ट गर्दाको समयमा दबाव महसुस गर्दछन् । आफ्नो पोष्टमा प्राप्त हुने लाइक्सको संख्यालाई आफ्ना साथीभाइ, परिवारका अन्य सदस्य तथा विभिन्न सेलिब्रेटीहरूसँग तुलना गर्दछन् । यस्तो तुलनामा व्यक्तिलाई नमीठो अनुभूति दिलाउँदछ ।

एक अध्ययन अनुसार, सोसल मिडिया पोष्टमा प्राप्त हुने लाइक्स प्रयोगकर्ताका लागि ड्रग्सजस्तै बन्दै गएको छ । लाइक्सप्रतिको बढ्दो चाहनाले सोसल मिडिया प्रयोगकर्तामा विभिन्न खाले समस्या पनि पैदा हुने गरेका छन् ।