व्यक्तीका लागी होइन् “डाइनामिक” नेतृत्वको बहस आवश्यक

व्यक्तीका लागी होइन् “डाइनामिक” नेतृत्वको बहस आवश्यक

एउटा विषय विगत केही दिनयता बडो “पेचिलो” विषयका रुपमा आइरहेको देखिन्छ । सेति प्रादेशिक अस्पताल र त्यसको प्रशासनिक नेतृत्व परिर्वतनको सवालमा ।

 तर्क आफ्ना आफ्ना हुन सक्छन्, सार्वजनिक सरोकारका विषयमा पक्ष र विपक्षमा वकालत हुनुलाई लोकतन्त्रको सुन्दर पक्षको रुपमा स्वभाविक मानिन्छ । तर विषयको वकालतको उदेश्य के हो ? कुन “एन्गल” बाट विषयमा बहस हुदैछ ? वकालतमा कतै भित्रि “इन्ट्रेस” त देखिदैन ? त्यो सवालमा भने सबै सरोकारवाल सचेत हुनै पर्छ, चाहे जिम्मेवारीबाट मुक्तहुन लागेको होस, या जिम्मेवारीमा आउन लागेको होस् । स्वार्थ केन्द्रीत, व्यक्ती केन्द्रीत र मनोगत रुपमा आउने विचारमा सन्तुलन कदापी देखिदैन ।


सेति प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको एक मात्र सबै भन्दा ठुलो र तुलनात्मक रुपमा सुविधा सम्पन्न अस्पताल हो । पटक–पटक नेताहरुको चुनावी नाराका रुपमा रहेको सेतिले थुप्रै लाई जनप्रतिनिधी बनाइसक्यो तर अस्पतालको अवस्था उल्लेख्य रुपमा विकास भएको छैन् ।

प्रदेश सरकार आइसके पछी प्रादेशिक अस्पतालको रुपमा सरकारको मातहतमा आइसकेको अवस्थामा पनि आन्तरिक रुपमा सेवा सुधारका लागी ठोस रुपमा प्रदेश सरकारले निणर्य गर्न नसकेको बेला बखतमा आलोचना भइरहेको खबरहरु पढ्न,हेर्न र सुन्नमा आइरहन्छन् ।

जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ क्षेत्रमा प्राथमीकताका साथ काम गर्न नसकेको विषय प्रदेश सरकार आफैले नर्कानु पर्ने अवस्था छैन् । विरामी हुदाँ स्वयम प्रदेश सरकारका प्रमुख मुख्यमन्त्री त्रिलोचन भट्टले सेति प्रादेशिक अस्पतालमा उपचार गर्नुलाई लोकप्रियताका लागी भन्दापनि सरकारी अस्पतालको सेवा सुविधा सम्पन्न एवम् प्रभावकारी बनाउन गरिएको पहलका रुपमा पनि लिन सकिन्छ ।

  प्रदेश सरकारको प्राथमिकताको “प्राजेक्ट” का रुपमा सेती अस्पताल रहेको सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको पटकपटक को वक्तव्यमा बाट पनि सहजै मान्न  सकिन्छ । 

प्रदेश सरकार पनि अस्पताल विकास समितीको गठन संगै स्वास्थ सेवा सुधार र आन्तरिक रुपमा व्यवस्थापनका लागी गम्भीर रुपमा लागेको हो की भन्ने विश्वास गर्न सकिन्छ । त्यसैको परिणामका रुपमा हिजो आज चर्चामा रहेको अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेय परिर्वतन गर्ने सवाललाई लिन सकिन्छ ।


प्रदेश सरकार पनि अस्पताल विकास समितीको गठन संगै स्वास्थ सेवा सुधार र आन्तरिक रुपमा व्यवस्थापनका लागी गम्भीर रुपमा लागेको हो की भन्ने विश्वास गर्न सकिन्छ । त्यसैको परिणामका रुपमा हिजो आज चर्चामा रहेको अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेय परिर्वतन गर्ने सवाललाई लिन सकिन्छ ।

 
अस्पतालको मेसु नयाँ आउने, बनाउने अथवा हटाउने यो विषयको बहस फरक होला, अहिलेलाई कस्तो नेतृत्व अस्पतालको समग्र सुधारको लागी आवश्यक हुन्छ र परिकल्पना गरिएको अस्पतालको संरचना बन्छ भन्ने तिर बहस हुन जरुरी देखिन्छ ।

अस्पताल विकास समितीले नेतृत्व पाइसकेको अवस्थामा सेवा सुधारका लागी आवश्यक संरचनागत विकास संगसंगै प्रशासनिक सुधारका लागी पहल गरिनुलाई अहिले नै नकारात्मक रुपमा भन्दा पनि स्वभाविक रुपमा लिनु पर्दछ ।  राज्यले कानुन बमोजिम राजनैतिक नियुक्ति गरेको नेतृत्वले स्वभावत आफ्नो योजना बमोजिम कार्यमा सहयोग पुग्ने गरि प्रशासनिक नेतृत्वको अपेक्षा गर्नुलाई पनि अन्यथा लिनु हुदैन् । 


डाक्टर पाण्डेयको सवालमा पटकपटक प्रदेश सरकारले उहाँ सँग अस्पतालको सुधारका लागी आवश्यक छलफल र निर्देशन समेत गरेको देखिन्छ । केहि समय अघि सम्म पनि खल्तीमा राजिनामा पत्र बोकेर मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्री सँगको बैठकमा जाने गरेका मेसु डा. पाण्डेय हाल आएर किन नेतृत्वका लागी अनेक प्रयास गर्दै छन् ? केही हदसम्म एउटा महत्वपुर्ण बहसको विषय यो पनि होला अर्को तर्फ अस्पताल व्यवस्थापन लाई पनि किन मेसु परिर्वतन गर्ने आवश्यकता महशुस यो पनि त्यत्तीकै महत्वपुर्ण प्रश्न हो । 


डा. पाण्डेय माथी लागेका दर्जन बढी आरोपको जवाफ उहाँ संग छ की छैन ? उहाँले अस्पतालको नेतृत्व गरे यता अस्पतालमा उहाँको पहलमा भएका देखिने गरि सुधारका कार्यहरु बारे स्पष्ट रुपमा उल्लेख गर्न सक्नु पर्दछ । बहस व्यक्तीमा होइन विधिमा हुनु आवश्यक छ ।

अस्पतालको प्रशासनिक प्रमुखको रुपमा रहेका मेसु पाण्डेय आफ्नो प्राइभेट किल्निक दिउँसो २ बजे देखि नै विरामी जाँच गर्न बस्नुहुन्छ तर मेसु भए देखी अस्पतालको ओपिडि विभाग र वार्ड राउन्डीङमा कति पटक जानुभएको छ ? यस्ता प्रश्नको जवाफ सेवाग्राहीका नाताले हामीलाई सोध्ने अधिकार छ ।

 
“सिङ्गल इन्षच्युसन प्रयाक्टीस” (एसआइपि) अर्थात चिकीत्सकले एक संस्थामा मात्रै काम गर्ने प्रणालीको सुरुवातका लागी उहाँले किन पहल गर्न सक्नु भएन या आफै निजि मेडिकलमा विरामी जाचँ गर्ने भएका कारण उहाँले त्यसका लागी चासो नै देखाउनु भएन ? किन कार्यालय समयमा पनि चिकित्सकहरु प्राइभेट किल्निकमा विरामी जाचँ गरिरहेका छन् ? अस्पतालको नेतृत्वका नाताले नैतिकताका साथ उहाँले यसको जवाफ दिन सक्ने कि नसक्ने ?

अर्को कुरा कार्यरत चिकित्सकहरुलाई अस्पतालको स्वास्थ सेवा सुधारमा लाग्न प्रोत्साहनका लागी उहाँले प्रदेश सरकार संग गरेका पहल र योजनाहरु के हुन ? यस्ता धेरै विषयहरु छन् जो छलफलमा आउन जरुरी छ ।   


अस्पतालको सेवा सुविधा तथा सुशासनमा सुधारका लागी प्रदेश सरकार गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । प्राथमिकताका साथ कार्यरत चिकित्सक तथा कर्मचारीको मनोवल उच्च हुने गरि प्रोत्साहनका कार्यक्रमहरु तदारुकताका साथ लागु गरिनु पर्छ ।

जिम्मेवारी दिने कुरामा पनि विधि र प्रक्रिया बमोजिम अस्पतालको आवश्यकता, व्यक्तीको अस्पताल प्रतिको लगाव, संस्थाको समुन्नत विकासका लागी योजना लगायतका सवालमा अध्ययन गरेर मात्रै जिम्मेवारी दिनुपर्दछ ।

परम्परागत सोच, संक्रिण मानसिकता, राजनैतिक पुर्वाग्रह भन्दा माथी उठेर अस्पताल जस्तो जनताको जिवन जोडिएको क्षेत्रमा व्यवसायीक र जिम्मेवारी प्रति प्रतिवद्ध व्यक्तीलाई नेतृत्वमा ल्याउन सक्नुपर्दछ,चाहे त्यो पुनः डा. पाण्डेय नै हुन अथवा अरु कुनै । पात्र को भन्दा पनि अहिलेको अवस्थामा सेति प्रादेशिक अस्पतालमा “डाइनामिक नेतृत्व” को आवश्यकता छ ।