फोहर प्लाष्टिकबाट डिजल निकालिदैँ

फोहर प्लाष्टिकबाट डिजल निकालिदैँ

सुदूरपश्चिम प्रदेशमा हरेक दिन एक जनाले ३सय १७ य्राम फोहर उत्पादन गर्ने गरेको एक अध्ययनले देखाएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले गरेको अध्ययन अन्ुसार सुदूरपश्चिम प्रदेशमा हरेक दिन एक जनाले ३ सय १७ ग्राम फोहर उत्पादन गर्दा प्रति ब्उक्ति प्रतिदिनको फोहर उत्पादन ३१ हजार एक सय १२ ग्राम  हुने गर्छ । यसरी उत्पादन भइरहेको फोहर ब्यवस्थापन उचित तरिकाले हुन नसकेको र उचित ब्यवस्थापन गर्न सकिए फोहरबाट राम्रो आम्दानी गर्न सकिने नाष्टका प्रविधि संकाय प्रमुख तथा नवीकरणीय उर्जा परीक्षण केन्द्रका महाप्रवन्धक डा.रवीन्द्र ढकालले बताउनुभयो ।

नाष्ट अन्तर्गतको नवीकरणीय उर्जा परीक्षण केन्द्रले खुमलटार स्थित प्रयोगशालामा प्रयोग भएर फोहरका रुपमा मिल्काइएको प्लाष्टिकबाट डिजेर निकालेर सफल परीक्षण समेत गरिसकेको छ । खानेपानीको बोतलको एक केजी बिर्कोबाट एक लिटर डिजल निकाल्न सकिने डा. ढकालले बताउनुभयो । उहाँले प्लाष्टिक, सिसा, कागज र अन्य फोहरलाई छुट्ट्याएर संकलन गर्न सकिए सबै फोहरबाट उर्जा उत्पादन गर्न सकिने बताउनुभयो ।

झारपात बालेर त्यसलाई खरानीका रुपमा उड्न नदिएर भाँडोमा बन्द गरेर राखेपछि पशु चौपायाको पिसाब मिसाउँदा रसायनिक मल भन्दा उत्तम मल बन्ने समेत उहाँले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको समन्वयमा सोमबार धनगढीमा आयोजित छलफल कार्यक्रममा डा. ढकालले प्रदेश सरकारले नीतिगत ब्यवस्था गरिदिएर नाष्टको परीक्षण अनु्सार उद्यमीहरुले लगानी गरेर आम्दानी गर्न सक्ने अवस्था रहेको जानकारी दिनुभएको छ । प्लाष्टिकबाट निकालिएको डिजल परीक्षण गर्दा युरो ४ स्तरको रहेको डा. ढकालको भनाई छ । नेपालमा हाल युरो ३ गुणस्तरको पेट्रोलियम पदार्थ प्रयोग हुन्छ ।