फिनल्याण्डकी सान्‍ना मरिन विश्‍वकै कान्छी प्रधानमन्त्री बन्दै

फिनल्याण्डकी सान्‍ना मरिन विश्‍वकै कान्छी प्रधानमन्त्री बन्दै

फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्ने भएकी छन्। उनले नेतृत्व गर्ने मिलिजुली सरकारमा सबै दलको प्रतिनिधित्व महिलाहरूले नै गर्ने भएका छन्। विश्वासको मत गुमाएका कारण निवर्तमान प्रधानमन्त्री अन्ते रिन्ने पदमुक्त भएपछि यातायातमन्त्री रहँदै आएकी मरिनले सरकारको नेतृत्व गर्न लागेकी हुन्।

एजेन्सीहरूले जनाएअनुसार उनले यसैसाता पद सम्हाल्ने अपेक्षा गरिएको छ। हुलाक सेवासम्बन्धी विवाद चर्किँदै जाँदा प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएका थिए। पदवहाली गरेसँगै मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री ठहरिनेछिन्।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेन ३९ वर्षकी भइन् भने युक्रेनका सरकार प्रमुख ओलेक्सी होन्चरुक ३५ वर्षमा चल्दैछन्। 'पुन: विश्वास आर्जन गर्नका लागि हामीले धेरै काम गर्नुपर्नेछ,' झिनो मतान्तरले विश्वासको मत हासिल गरेकी मरिनले पत्रकारहरूसँग भनिन्।

उमेरबारे सोधिएको प्रश्नमा मरिनले भनिन्, 'मेरो उमेर वा लिंगबारे मैले कहिल्यै सोचेकी छैन, म राजनीतिमा छु र निर्वाचकमण्डलको विश्वास आर्जन गरेका कारण यहाँसम्म आएकी हुँ।' मरिन नर्डिक देशमा प्रधानमन्त्री बन्‍ने तेस्रो महिला हुनेछिन्।

फिनल्याण्डको एक सञ्चार संस्थाले जनाएअनुसार, एकल आमाले हुर्काएकी मरिन उक्त परिवारबाट विश्वविद्यालय जाने पहिलो सदस्यसमेत हुन्।