अब नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यक नम्बर पाइने

अब नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यक नम्बर पाइने

नेपाल टेलिकमले वेबसाइटबाट नै आवश्यकता बमोजिमको टेलिफोन नम्बर थाहा पाउन सकिने नयाँ सुविधा ल्याएको छ । 

यसअघि थाहा नभएका टेलिफोन नम्बरहरु १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाटै पनि हेर्न सकिने भएको हो । 

नेपाल टेलिकमले वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याएको हो । यसका लागि कम्पनीको वेबसाइट www.ntc.net.np/pstn मा लगअन गर्नु पर्नेछ ।

त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिने कम्पनीले जनाएको छ । 

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यस्तै, संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । 

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । अहिले त्यही सेवालाई  परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो । 

डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट जुनसुकै बेला सेवा उपलब्ध गराउन सो व्यवस्था ल्याइएको कम्पनीले जनाएको छ ।