अल्ट्रासाउण्ड मेसीन खरीद प्रकरण : लेखा समितिले माग्यो सम्पूर्ण कागजात

अल्ट्रासाउण्ड मेसीन खरीद प्रकरण : लेखा समितिले माग्यो सम्पूर्ण कागजात

 
धनगढी–सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको अल्ट्रासाउण्ड मेसिन खरीद सम्बन्धी छानवीनका लागि प्रदेशको सार्वजनिक लेखा समितिले खरीद प्रक्रियाका सम्पूर्ण कागज पत्र अध्ययन गर्ने निर्णय गरेको छ । 

समितिको शुक्रबार बसेको बैठकबाट कागजपत्र अध्ययनका लागि खरीद प्रक्रियाको शुरु देखिकै सम्पूर्ण कागज पत्र मगाउने निर्णय गरिएको समितिका सभापति कुमारी नन्दा बमले बताउनुभयो । यस अघि मंसीर २६ गते समितिमा सो खरीद प्रक्रियाबारे संसदीय छानवीन गर्न उजुरी परेपछि समितिले पहिलो पटक पत्राचार गर्दा भ्याट रकम थप गर्न माग गरिएको पत्र मात्रै निर्देशनालयले समितिलाई उपलब्ध गराएको थियो । ती कागजपत्रका आधारमा सम्पूर्ण खरीद प्रक्रियाबारे अनुसनधान गर्न कठीन हुने भएपछि सम्पूर्ण कागज पत्र मगाउने निष्कर्षमा लेखा समिति पुगेको हो । 

लेखा समितिको शुक्रबारको बैठकमा समितिका सदस्यहरुले प्रदेश स्वास्थ्य निर्देशनालयले खरीद गरेको अल्ट्रासाउण्ड मेसिन स्थानीय तहमा बाँड्ने योजना रहेको बुझिएकोले स्थानीय तहमा बिरामीलाई औषधी दिने स्वास्थ्यकर्मी समेत नभएको अवस्था अल्ट्रासाउण्ड मेसीन बाँड्ने कुरा नीतिगत रुपमै गलत भएको बताएका छन् । 

लेखा समितिले अल्ट्रासाउण्ड मेसिन किन्ने निर्णय, प्राविधिक मुल्यांकनका लागि बायो मेडिकल इन्जिनियर नियुक्त गर्दा निकालिएको सूचना, सो सूचना अनु्सार परेका आबेदन र छनौट प्रक्रिया तथा मुल्याकनका लागि नियुक्र गरिएका बायो मेडिकल इन्जिनियर अन्य भन्दा बिशिष्ट ठहरिनुको कारण  र सस्तोमा दररेट हाल्ने बोलपत्रदाता भन्दा महङ्गोमा हाल्ने लाई आपु्र्ति गर्ने जिम्मा दिनुको कारण सहित खरीद प्रक्रियाका कागज पत्र माग गर्ने निर्णय गरेको हो ।

समितिले शुक्रबार नै पत्रचार गर्ने र एक हप्ताभित्र सम्पूर्ण कागजपत्र दिन निर्देशन गरिएको सभापति बमले बताउनुभयो । उहाँले कागजपत्रको अध्ययन गरी आवश्यक परे प्रदेश स्वास्थ्य निर्देशक र सामाजिक विकास मन्त्रालयका सचिवलाई समेत बयानका लागि बोलाइने उहाँले जानकारी दिनुभयो ।