घोडाघोडी तालमा पर्यटक बढाउन सुखडमा महोत्सव हुदै

घोडाघोडी तालमा पर्यटक बढाउन सुखडमा महोत्सव हुदै

धनगढी। कैलालीको घोडाघोडीमा माघ २ देखि १२ गतेसम्म सांगीतिक तथा पर्यटन महोत्सव हुने भएको छ । घोडाघोडी तालको प्रचार प्रसार गरी पर्यटक बढाउने उद्देश्यका साथ घोडाघोडी नगरपालिका – १ सुखडमा महोत्सव हुनलागेको हो ।

विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पर्यटन महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले बताए ।

घोडाघोडी नगरपालिकाभित्रका पर्यटकीय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको महोत्सवको माध्यमबाट प्रचार प्रसार गर्ने आयोजकको भनाइ छ ।

महोत्सवले घोडाघोडी क्षेत्रको मात्र नभई समग्र कैलाली जिल्लाको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने प्रचार प्रसार समितिका संयोजक प्रकाश मिश्रले बताए ।

पर्यटन महोत्सवले कैलालीको घोडाघोडीसँगै रहेको बर्दगोरिया धार्मिक क्षेत्रको पनि प्रचार प्रसार हुने मिश्रले बताए । कैलालीमा टीकापुर पार्क, चिसापानी पुल, लोकहा भौकहा ताल, कोइलही ताल, जोखर ताल, गोदावरी धाम, शिवपुरी धाम लगायत दर्जनौँ पर्यटकि क्षेत्र रहेका छन् । घोडाघोडी पर्यटन महोत्सवले ती क्षेत्रहरूमा पनि पर्यटक र्पुयाउन सहज हुने आयोजकको दाबी छ ।

महोत्सवमा थारु परिकार र पहिरनको समेत प्रचार प्रसार गर्ने स्थानीय कलाकार संयोजक स्वरूप चौधरी बताए ।

महोत्सवमा राजेश हमाल, रामजी खाँड, कमला घिमिरे, अमृत सापकोटा सुरवीर पण्डित, कमल खत्री, निसान्त भट्टराई लगायत कलाकार आउने प्रचार प्रसार समिति संयोजक मिश्रले बताए । माघ २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महोत्सव उद्घाटन गर्ने तयारी भइरहेको मिश्रले बताए ।