'एमसीसी' मा काङ्ग्रेसकाे समर्थन छ, कुनै पनि हालतमा पास हुनुपर्छ : सभापति देउवा

'एमसीसी' मा काङ्ग्रेसकाे समर्थन छ, कुनै पनि हालतमा पास हुनुपर्छ : सभापति देउवा

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे विषय विवादित बन्दै गएको अवस्थामा नेपाली काङ्ग्रेसकाे तर्फबाट पनि धारणा सार्वजनिक भएकाे छ ।

काङ्ग्रेसले एमसीसी नेपालकाे हितमा रहेकाे बताउँदै आएकाे र त्यसमा आफ्नाे पनि समर्थन रहेकाे काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बताउनु भएकाे छ । विवादित बनेको एमसीसी कुनै पनि हालतमा पास हुनु पर्नेमा देउवाले जाेड दिएकाे छ । 

उहाँले एमसीसी पास भएमा नेपालले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे । नेपाली प्रेस युनियन दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले नेपाल जस्तो अल्पविकसित देशमा विदेशी सहयोग अनिवार्य रहेको भन्दै एमसिसी परियोजनाअन्तर्गत अमेरिकाले ५० करोड अमेरिकी डलर सहयोग गर्ने बताउनु भयाे ।  

उहाँले बाहिर हल्ला चलेजस्तो इन्डोप्यासिफिक रणनीति 'एमसीसी' मा नभएको समेत स्पष्ट पार्नुभयाे । केही दिनअघि मात्रै अमेरिकी दूतावासले इन्डोप्यासिफिक रणनीति नभएको सार्वजनिक गरिसकेको अवस्थामा कुनै शङ्का नगरि हिउँदे अधिवेशनबाट पारित गर्नुपर्ने पार्टीकाे धारणा रहेको उहाँकाे भनाइ छ ।

सरकारले नेपालमा विद्युत उत्पादन बढाउने, सडक गुणस्तर कायम गर्ने तथा नेपाल र यस क्षेत्रबीच ऊर्जा व्यापारलाई सहज बनाउने उद्देश्यसहित एमसीसीसँग सम्झौता गरेको थियो ।