एमसीसी इन्डो-प्यासिफिकसँग जोडिएको छैन : प्रधानमन्त्री

एमसीसी इन्डो-प्यासिफिकसँग जोडिएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०लाई संसद्‌बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्‍ने बताएका छन् । 

बुधबार नेकपा केन्द्रीय समिति बैठकको उदघाटनमा बोल्दै ओलीले एमसीसीअन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन्। एमसीसी इन्डो-प्यासिफिकसँग जोडिएको छैन, यसलाई संसदबाट अनुमोदन गर्नु पर्छु उनले भने, यसले नेपाललाई घाटा होइन, फाइदा पुग्छ।

एमसीसीका केही प्रावधान देशहित विपरीत रहेको भन्दै सत्तारुढ नेकपाकै नेताले आलोचना गरिरहेको बेला ओलीले संसद्‌बाट अनुमोदनको विषयलाई दोहोर्‍याएका हुन्। उनले एमसीसीका सबै बुँदा पढेको उल्लेख गर्दै कुनै भ्रममा नपर्न पार्टीपंतिलाई आग्रह गरे।

मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने विचार राखेका थिए।प्रतिपक्षी कांग्रेस पनि एमसीसी सम्झौतालाई संसद्‌बाट छिट्टै अनुमोदन गराउनुपर्ने पक्षमा उभिएको छ।
'यतिसँग कुनै साइनो छैन'
प्रधानमन्त्री ओलीले यतिसँग कुनै साइनो नभएको प्रस्ट पारेका छन्। उनले १२ वर्षअघिको विषयलाई कोट्याएर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए। 'यति होल्डिङ्ससँग कुनै साइनो छैन। १२ वर्ष अगाडिको कुरा जोडेर अहिले प्रचार गरियो' उनले भने, 'शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रक्रिया पुर्‍याएर कालिमाटीको जग्गा दिएको रहेछ।

व्यापारी घरानाको अस्वस्थ प्रतिस्पर्धामा हामी पर्दैनाै। कानुनसम्मत ढंगले अगाडि बढ्छौं। त्यसमा सरकारले कुनै गल्ती गरेको छैन।' सरकारले धेरै राम्रा काम गरे पनि प्रचार हुन नसकेको ओलीले बताए। पार्टी बैठकमा सरकारको लामो प्रगति विवरण सुनाएका ओलीलेसरकार भ्रष्टाचारमा नलागेको पनि दाबी गरे।

नेता, कार्यकर्ताको आलोचना सहन आफूहरु तयार रहेको भन्दै ओलीले देश बनाउन एकै तालमा हिँड्न निर्देशन दिए। भने, 'साथीहरूबाट हाम्रो आलोचना होला, हामी दुई अध्यक्ष नै आलोचना सुन्न तयार छौं। पार्टीमा एक ताल, एक आवाजमा हिँडौं। तबमात्र देश बन्छ।'
 

ओली बैठकबाट बाहिरिए, दाहालले अध्यक्षता गर्ने

सरकारको प्रगति विवरणसहित उदघाटन मन्तव्य राखे लगत्तै प्रधानमन्त्री एव‌ं अध्यक्ष ओली केन्द्रीय समिति बैठकस्थलबाट बाहिरएका छन्। ओली निस्किएपछि बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन्।
 

'पार्टी एकता आकस्मिक होइन'

अध्यक्ष ओलीले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता आकस्मिक रुपमा नभएको बताए। बैठकमा भने, 'विभिन्न उतारचढाव भोगेर जहाँबाट हाम्रो यात्रा सुरु भएको हो त्यही ठाउँमा आज एकताबद्ध भएका छौं। बीचका विभाजनका पीडा भोगेर समीक्षा गरेर एकताबद्ध भएका छौँ। आकस्मिक रूपमा एकीकरण भएको होइन।'

'एकताको मुख्य आधार वैचारिक, सांगठनिक र व्यवहारिकलाई सबल, समृद्ध र खदिँलो बनाउँदै जाने संकल्पसाथ आएका छौँ' उनले भने। निर्वाचन पछिका दुई वर्षमा आफ्नो पार्टीले असाधारण उपलब्धि हासिल गरेको ओलीको दाबी थियो।

ओलीले सरकारबाट कमीकमजोरी भएको तर प्रचारयुद्ध डरलाग्दो गरी छेडिएको भन्दै असन्तुष्टि जनाए। उनले काम गरेर नतिजाबाट आलोचकलाई जवाफ दिने बताए। उनका अनुसार केन्द्रीय समिति बैठक माघ १९ गते सकाउने लक्ष्य छ।