एमसीसीमा सहमति खोज्ने गरी भीम रावललाई नेकपाले दियो जिम्मेवारी

एमसीसीमा सहमति खोज्ने गरी भीम रावललाई नेकपाले दियो जिम्मेवारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादमा सहमति खोज्ने जिम्मा स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित समितिलाई दिएको छ । 

एमसीसी सम्झौताका केही प्रावधानमा नेता रावलले गम्भीर असहमति व्यक्त गरिरहेका बेला नेकपाले उनी सम्मिलित समिति बनाएर सहमति खोज्ने निर्णय गरेको हो ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा सहमति खोज्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल संयोजक रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता रावल सम्मिलित समिति गठन गरिएको जानकारी दिए ।

समितिलाई सहमति गर्न १० दिनको समयसीमा दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार नेकपा नेता राजन भट्टराईले बताए ।

नेकपा सचिवालयले खनालको संयोजकत्वमा समिति बनाउन प्रस्ताव गरेको र केन्द्रीय कमिटीले पारित गर्ने केन्द्रीय सदस्य विक्रमबहादुर शाहीले बताए । समितिले तयार पारेको सहमतिको प्रस्ताव नेकपा सचिवालयमा पेश भएपछि एमसीसी प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।